घोराही । भेरी अस्पताल नेपालगञ्जका चिकित्सक र नर्सिङ स्टाफहरुमाथि भएको आक्रमणको घटना छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । घटनाको पाँच दिनपछि सोमबार समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको हो ।
समितिले अस्पतालमा रहेको सीसीटीभी फुटेज, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित चिकित्सक, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी घटनाबारे प्रतिवेदन तयार पारेको समितिका सदस्य तथा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिए पनि सरोकारवालासँग सोधपुछको समय नपुगेको भन्दै थप एक दिन समय माग गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । सात सदस्यीय उक्त समितिमा जिल्ला प्रहरी कार्यालय बाँकेका नायब प्रहरी उपरीक्षक सुवास खड्का, अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसीओली, चिकित्सक संघका अध्यक्ष डा. विनोद कर्ण, धनराम ओली, डा. रमण किदवाई र सरकारी वकिल कार्यालयको तर्फबाट शान्तिविक्रम शाह सदस्य थिए ।
यही जेठ १२ गते बेलुका दाङको तुलसीपुर उपमहानगरपालिका–११ का डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि आफन्तहरु मानबहादुर रावत, भरत रावत र लोकराज रावतले चिकित्सक तथा नर्सहरुमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको थियो ।
उनीहरुले चिकित्सक तथा नर्सहरुले उपचारमा लापरबाही गरेको आरोप लगाउँदै कुटपिट गरेका थिए । प्रहरीले उनीहरु तीनैजनालाई सोही दिन नै पक्राउ गरी उनीहरुविरुद्ध ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको छ । घटनामा संलग्न अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
आक्रमणकारीमाथी कारबाही गर्न माओवादी केन्द्र र कांग्रेस लगायतका पार्टी र विभिन्न संघसंस्थाहरुले माग गरिरहेका छन् । आक्रमणकारी नेकपा ओली निकट कार्यकर्ता रहेका बताइएको छ । सो घटना लगत्तै उनका शंकर पोखरेल र विष्णु पौडेलसँगै खिचेका तस्विरहरु पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।