• फाल्गुन २६ २०८२, मंगलवार

राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनको दोस्रो सफलता

जेष्ठ १७ २०७८, सोमबार

काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार तथा नेपाली काँग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सत्तापक्ष नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

आज (सोमबार) दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको परिसरमा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो । उक्त मतदान पश्चात् पाण्डेले ४ हजार १ सय ४० र खड्काले ३ हजार ५ सय ९४ मत प्राप्त गरेका छन् । योसँगै सत्ता पक्षसँगको लडाइँमा लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनले दोस्रो सफलता हात पारेको छ । बागमती प्रदेशमा जेठ ६ गते सम्पन्न उपनिर्वाचनमा हार व्यहोरेको सत्तारूढ दल एमालेले लुम्बिनीमा पनि नराम्ररी हार व्यहोरेको छ ।

यसअघि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेसँगै उनको रिक्त पदमा उपनिर्वाचन भएको हो । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । तर, विपक्षी गठबन्धन काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको थियो ।

त्यस्तै पाण्डेले पनि गत बैशाखमा एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् । यसअघि उनी एमाले र लुम्बिनी प्रदेश सभा सदस्य थिए । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद् विघटन गरेकी थिइन् । संसद् विघटन भएयता सत्ता पक्षविरुद्ध विपक्षी दलहरूले गठबन्धन गरेका छन् । उनीहरूले गठबन्धन गरेसँगै बागमती प्रदेशमा जेठ ६ गते सम्पन्न उपनिर्वाचनमा सत्तापक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका हुन् ।

सत्तारूढ दल नेकपा (एमाले)ले क्रमशः बागमती र लुम्बिनी प्रदेशमा हार व्यहोरेपछि प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममार्फत वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको कमजोरीका कारण आफूहरूले पराजय भोग्नु परेको बताउँदै आएका छन् । यस्तो अवैध कार्य पार्टीभित्र क्षम्य नहुने भन्दै ओलीले चेतावनी समेत दिएका छन् । उनले आइतबार तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल–खनाल पक्षले सरकार ढाल्न विपक्षी दलहरूसँग साठगाँठ गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

विपक्षी दलका अधिकांश नेताले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आफूहरूले गठबन्धन गरेको बताएका छन् । उनीहरूले यो उपनिर्वाचन निर्वाचनमात्रै नभएर सत्तापक्ष र विपक्षी गठबन्धनको प्रतिष्ठाको लडाइँ भएको बताएका छन् । यसमा आफूहरू पूर्ण रूपले सफल भएको विपक्षी गठबन्धनको दाबी छ ।

त्यस्तै आफूहरू ओलीको कदमविरुद्ध आगामी चुनावमा पनि मोर्चाबन्दी गर्नसक्ने नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार विघटित संसद् पुनःस्थापना भएमा सत्ता गठनको विषयलाई प्राथमिता दिइने छ र नभएको खण्डमा विपक्षी गठबन्धनले संयुक्त चुनावी मोर्चाबन्दी गर्ने छ ।