ओखलढुङ्गा । ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन्।
जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन्।
सिद्धिचरण नगरपालिकाका किशोरीले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन थालेका छन्। महिनावारी भएको बेला एकपटक प्रयोग गरेपछि त्यसलाई धोएर फेरि लगाउन मिल्ने प्याड बनाउँदा बढी प्रभावकारी भएको सिद्धिचरण नगरपालिका– ११ की किशोरी वसन्ता खत्रीको भनाई छ। खत्रीले आफूले सिकेको प्याड बनाउने सीप समुदायका अरु किशोरीहरुलाई पनि सिकाइरहेकी छिन्। ‘पहिला म पनि बजारमा पाइने प्याड किनेर प्रयोग गर्थे, अहिले आफैँले बनाउँछु। मलाई जस्तै अरुलाई पनि सहज होस् भनेर साथीहरुलाई पनि सिकाउने गरेको छु’ खत्रीले भनिन्।
प्याड बनाउन सिकेपछि किशोरीहरुको विद्यालयमा उपस्थिति समेत बढेको किशोरी अभियान्ता सरस्वती बानियाकोे भनाई छ। विगतमा रजश्वला हुँदा महिनामा चार दिन विद्यालयमा गयल हुने किशोरीहरु अहिले आफैँले बनाएको प्याड प्रयोग गरेर नियमित विद्यालय जाने गरेको उनको भनाई छ।’रजश्वला सामान्य प्रक्रिया हो तर यसले महिलाको जीवनमा निकै ठूलो प्रभाव पर्दछ। यहाँसम्मकी रजश्वला हुँदा विद्यालय जान नसक्ने अवस्था हुन्थ्यो’ बानियाले भनिन्,’प्याड नपाउँदा महिनामा ४–५ दिन गयल हुने छात्राहरु अहिले आफुले प्याड बनाउन सिकेपछि नियमित विद्यालय जान थालेका छन्।’
महिनावारी हुनु एउटा प्राकृतिक प्रक्रिया भएपनि यसलाई समाजमा एउटा सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक र सांस्कृतिक वर्गीकरणको कारण बनाउने गरेको उनी बताउँछिन्। महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडको प्रयोगका बारेमा छलफल गर्न लजाउने किशोरीहरुले अहिले आफैँले प्याड बनाएर आफु र आफ्ना साथीभाइको आवश्यकता पूर्ति गर्न थालेको उनको भनाई छ। बानियाकै नेतृत्वमा जिल्लामा सबैभन्दा पहिला स्थानीय किशोरीहरुलाई प्याड बनाउने सीप सिकाइएको थियो।
जिल्लाको सिद्धिचरण नगरपालिकाले पनि स्थानीय महिलाहरुका लागि प्याड बनाउने तालिम दिएको छ। नगरपालिकाबाट तालिम पाएपछि विगतमा पुराना तथा फाटेका कपडाका टालोले काम चलाउने महिलाहरु प्याड प्रयोग गर्न थालेका छन्।