• मंसिर १४ २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि बस्दै

बैशाख १३ २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार बस्ने भएको छ।

स्थायी समिति सदस्य मात्रिका यादवका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ। जसमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसद नियुक्ति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश २ ले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी साह र मोहम्मद समिरलाई चैत ३० गते पदमुक्त गर्न सिफारिस गरेको थियो।

मंगलबारको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्न लागेको हो।

प्रत्यक्ष निर्वाचित सांसद पदमुक्त भएपछि रिक्त पदमा उपनिर्वाचन गराउनुपर्छ तर समानुपातिकको हकमा भने बन्द सूचीमा दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई चयन गरिनेछ।

यसअघि वैशाख ७ गते पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। सो बैठकमा वैकल्पिक सरकारको निर्माण, अधिवेशनको अन्त्य र कोरोना संक्रमण रोकथामबारे छलफल भएको थियो।

सोही दिनको बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गरेको थियो।

वैशाख ८ गतेको बैठकले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिने बताइएको थियो। तर, अहिलेसम्म फिर्ता लिएको छैन।

यस्तै भोलिको बैठकमा विभिन्न प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेस भएका अविश्वासको प्रस्ताव र पार्टीले खेल्नुपर्ने भूमिकाबारेमा पनि छलफल हुने नेताहरु बताउँछन्।