• कार्तिक ९ २०८३, आईतवार

बडादशैं आजदेखि सकियो,घटस्थापनाका दिन राखिएका फूलप्रसाद र जमरा विसर्जन गर्ने

कार्तिक ९ २०८३, आईतवार

काठमाडौँ ।   बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिँदै छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व कोजाग्रत पूर्णिमाका दिन समापन हुने गर्दछ । यस दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने र माता दुर्गाका मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।

बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने  गरिन्छ ।