काठमाडौं । कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन (बन्दाबन्दी) गर्न नेपाल चिकित्सक संघले आग्रह गरेको छ। सोमबार सार्वजनिक विज्ञप्ति जारी गर्दै संघले कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु दुबै बढ्दै गएका कारण उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकालको घोषणा गर्न सरकारसँग आग्रह गरेको हो।
संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रिया बाहेकका अन्य सबै सेवा बन्द गर्न माग गरिएको छ।
त्यस्तै, कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न पनि आग्रह गरिएको छ।
अस्पतालहरूमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको हो। निश्चित अस्पताललाई भने कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको प्रावधान गर्नुपर्ने संघको माग छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बीमा प्रभावकारी रूपमा लागू गर्न समेत संघले माग गरेकोछ।
चिकित्सकलाई सुरक्षाका उपाय अपनाएर आफू सुरक्षित रही आआफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न समेत आगह गरिएको छ। कोरोनाको नयाँ भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउन पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई संघले आग्रह गरेको छ ।