काठमाडौं । समाचार प्रकाशन गरेकै आधारमा पत्रकारमाथी भएको दमन र गिरफ्तारीप्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आपत्ति जनाएको छ । केही समयअघि प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीच बालुवाटारमा भएको भनिएको सहमति मिडियामार्फत् सार्वजनिक गरेको आरोपमा उज्यालो अनलाइनबाट प्रकाशन गरेको आरोपमा सो मिडियाका पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो ।
रातको समयमा तीन घण्टासम्म गरिएको गोप्य वार्ताका विषयमा समाचार लेखेकै कारण आज उज्यालो अनलाइन नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई गैरन्यायिक ढंगले गिरफ्तार गरेको भन्दै सो संगठनले विरोध जनाएको हो । प्रहरीले उच्च अदालत पाटनले पक्राउ नगर्न दिएको आदेशलाई अवज्ञा गर्दै पत्रकारहरुलाई पक्राउ गरिएको हो ।
केन्द्रको विज्ञप्तिमा ‘समाचार लेखेकै आधारमा पत्रकारहरुलाई नेटवर्कको कार्यालयमा प्रवेश गरी अन्धाधुन्ध रुपमा पकाउ गरिनु प्रेस स्वतन्त्रताको घोर उलंघन हुनुको साथै अदालतबाट पक्राउ नगर्ने आदेश हुँदाहुँदै पक्राउ गरिनु सरकारको निरंकुशतावादी एवं फासीवादीचरित्रको घोर विरोध र भ्रत्सना गर्दछ र गैरन्यायिक रुपमा पक्राउ गरिएका श्रमजीवी पत्रकारहरुलाई बिनासर्त तुरुन्त रिहा गर्न र झुठा मुद्दाहरु खारेज गर्न जोडदार रुपले माग गर्दछ ।’
केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञप्तिमा सो घटनाको विरोध जनाउँदै उनीहरुलाई तुरुन्त रिहाइको माग गरिएको छ ।