• बैशाख १९ २०८३, शनिबार

बाँकेमा निषेधाज्ञाः के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

बैशाख १२ २०७८, आईतवार

काठमाडौँ /

कोरोना संक्रमणबाट बच्नका लागि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकामा ८ गतेबाटै निषेधाज्ञा गरिएको थियो भने हिजोदेखि कोहलपुर नगरपालिकामा पनि निषेधाज्ञा गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज एक सूचना आदेश जारी गर्दै बाँके जिल्लाभरी भोलि वैसाख १३ गते राती १२ बजेदेखि वैसाख २० गते राती १२ बजेसम्मका लागि अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधन, पसल व्यवसाय, हाटबजार संचालन र अत्यावश्यक काम बाहेक अन्य काममा हिंडडुलमा निषेध गरिएको बताएका छन् ।

यी काम गर्न पाइने

निषेधाज्ञा जारी भएपनि स्वास्थ्य, खानेपानी, विद्युत, दुरसंचार, शान्तिसुरक्षा, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकका एटीएम सेवा साथै सार्वजनिक निर्माण कार्य, हवाई सेवा र पूर्व निर्धारित परिक्षाहरु भने संचालन गर्न पाइने छ ।

त्यस्तै एम्बुलेन्स, शव बाहन, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोगका सवारी, लामो दुरीका सवारी तथा मालबाहक साधनहरु, निर्माण सामग्री ढुवानीका साधनहरु, अत्यावसेक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु र अनुमति पास प्राप्त साधनहरु भने चल्नेछन् ।

माथि उल्लेखित काम र गतिविधिमा संलग्न मानिसहरुले आफ्नो साथमा अनिवार्य रुपमा आफ्नो परिचयपत्र राख्नुपर्नेछ । साथै उल्लेखित काम गर्नेहरुले सान्दर्भिक कागजात पनि साथमा राखेको हुनुपर्नेछ । यसरी गतिविधि गर्दा स्वास्थ्यका मापदण्ड पालना गरेको हुनुपर्नेछ भने दैनिक उपभोग्य वस्तुका पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र संचालन गर्न पाइनेछ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशलाई अटेरी गरे जो कोहीलाई पनि स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही समेत हुने भनेर जिल्ला प्रशासन कार्यालय बाँकेले बताएको छ ।

हेरौं जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना आदेश ⇓

 जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना आदेश
जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना आदेश