• बैशाख १९ २०८३, शनिबार

भूकम्पका ७ वर्ष : पुनर्निर्माणमा गतिहीनता किन ?

बैशाख १२ २०७८, आईतवार

२०७२ सालको भूकम्प आयो, गयो । तर यसको असर अहिलेसम्म पनि जस्ताको तस्तै छ । भूकम्प गएको दिनमा देशभरको पुनर्निर्माण क्षणभरमै गरिने सकारात्मक उत्साह अएको देखिएको थियो । तर आज ७ वर्ष बितिसक्दा पनि भनेजस्तो काम हुन गएको छैन । ७ वर्षमा देशभर केवल ८० प्रतिशत मात्र पुनर्निर्माणका काम भएका छन् ।

यस्तो गतिहीनता आउला भनेर पहिले कल्पना पनि गरिएको थिएन । तर भयो यस्तै । दातृ निकायले दिएको अनुदान सहयोगको पनि समयमै सदुपयोग गर्न सकिएन । सरकारले हरेक वर्ष पुनर्निर्माण कार्यमा छुट्याएको बजेटको पनि उचित मात्रामा सदुपयोग हुन सकेन ।

 

भूकम्पपछि बितेका पूरा ६ वर्षको अवधिमा भत्किएका संरचना पुनर्निर्माणमा मात्र कुल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको खर्च हुन गएको छ । त्यसमा थप दाता सम्मेलनको क्रममा प्रतिबद्धता व्यक्त भएको रकम ४ खर्ब १० अर्ब रुपैयाँ बराबर थियो । ७६ अर्ब राहत तथा उद्दार एवम् अन्य कार्यक्रममा खर्च गरिएको थियो । चालु आर्थिक वर्षको बितेका ९ महिना गत चैत मसान्तसम्म ३ खर्ब ५७ अर्ब ३ करोड बराबरको खर्च हुन सकेको छ ।

गणनाका हिसाबले पुगेको ७ वर्षका बीचमा क्षतिग्रस्त भएका कुल ७ हजार ५ सय ५३ भवन निर्माण गर्ने लक्ष्य राखिएकामा ६ हजार २ सय ४६ विद्यालय भवन मात्र पुनर्निर्माण भएका छन् । १ हजार ३ सय ७ वटा भवन पुनर्निर्माणको क्रममा छन् । त्यसै गरी कुल १ हजार १ सय ९७ स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने लक्ष्य राखिएकामा हालसम्म ६ सय ९८ निर्माण सम्पन्न भएका छन् र २ सय ९६ वटा पुनर्निर्माणका क्रममा छन् ।

सरकारी भवनमा कुल ४ सय १५ वटामध्ये ३ सय ७४ वटाको पुनर्निर्माण भैसकेका र ३८ वटा भने पुनर्निर्माणको क्रममा छन् । सुरक्षा निकायतर्फ कुल २ सय १६ वटामध्ये २ सय १४ वटा सम्पन्न भैसक्दा बाँकी २ वटा पुनर्निर्माणका क्रममा रहेका छन् ।

पुनर्निर्माण प्राधिकरणले राष्ट्रिय महत्वका रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी दरबार संग्राहलयभित्रको रणोद्दीपको दरबारको पुनर्निर्माण कार्य सकिसकेको छ । भूकम्पले कुल १४ जिल्लामा बढी क्षति र बाँकी ३२ जिल्लामा सामान्य क्षति पुर्याएको थियो ।