• बैशाख १९ २०८३, शनिबार

अदालतको आदेश लत्याउँदै सञ्चार गृहबाटै पत्रकार पक्राउ

बैशाख १२ २०७८, आईतवार

काठमाडौं । समाचार लेखेकै भरमा सञ्चार गृहमा पुगेर प्रहरीले दुईजना पत्रकार पक्राउ गरेको छ । उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङलाई प्रकाशन गृहकै परिसरबाट आइतवार दिउँसो नियन्त्रणमा लिइएको हो ।

छापामार तरिकाले प्रहरी टोली दिउँसो प्रकाशन गृहको कार्यकक्षमा पुग्दा पत्रकार द्वय समाचार कक्षमा व्यस्त थिए । यसको कारण सार्वजनिक गर्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले ती दुवैविरुद्ध साइबर अपराध, किर्ते र राज्यविरुद्धको अपराधसम्बन्धी कसुर रहेको बताएका छन् । उनका अनुसार गिरफ्तार गरिएका पत्रकारहरुमाथि यो आरोप बारेमा अनुसन्धान गरिने छ ।

पत्रकार द्वय कार्यरत रहेको उज्यालो नेटवर्क डटकमले हालसम्म गोप्य राखिएको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल बीच केही महिना पहिले काठमाडौंमा भएको गोप्य भेटघाटका बीचमा गरिएको ४–बुँदे सहमति भनेर समाचार लेखिएको थियो । अंग्रेजी भाषामा लेखिएको र नेपालका प्रम तथा भारतीय दूतका रुपमा आएका गोयलको संयुक्त रुपमा हस्ताक्षर गरिएको लिखत समेत स्क्यान गरेर प्रकाशन गरिएको थियो ।

तर सरकारले उक्त लिखत र हस्ताक्षर सबै ‘किर्ते’ भएको भनेर प्रकाशक तथा सम्पादकमाथि प्रशासनले मुद्दा चलाउन थालेको छ । यस विषयलाई लिएर पत्रकार जगतमा ठूलो विरोध भैरहेको छ । नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ तथा पत्रकार आवद्ध विभिन्न पेसागत संघ, संगठनहरुले पत्रकार गिरफ्तारीको विरोध गरिरहेका छन् ।

पत्रकार तथा पत्रकारिता जगतमाथि निगरानी, अनुगमन र सुरपरीवेक्षण गर्ने आधिकारिक निकाय प्रेस काउन्सिलले उक्त समाचार प्रकाशित गरेको बारेमा स्पष्टीकरण लिइसकेपछि प्रकाशक उज्यालो नेटवर्कले समाचार हटाएर माफी समेत मागिसकेको थियो । यसै विषयलाई लिएर उच्च अदालत, पाटनले पनि समाचारको विषयलाई लिएर पत्रकारलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिसकेको थियो ।

तर यसलाई समेत नजर अन्दाज गरी प्रहरी प्रशासनले पत्रकारलाई पक्राउ गरी अनुसन्धानका लागि भन्दै हिरासतमा लिएको छ ।