काठमाडौँ/
अहमदीया संघ नेपाल र कुमारी युवा क्लवको संयुक्त आयोजनामा राजधानी काठमाडौँमा रक्तदान सम्पन्न भएको छ। राजधानीको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटारमा केन्द्रिय कार्यालय भएको अहमदिया संघ र सोही स्थानमा कार्यालय भएको कुमारी क्लवको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
देशमा कोरोना भाइरसको महामारीको दोस्रो चरणको संक्रमण बढ्दै गएको अवस्थामा रगत बैंकहरुमा रगत अभाव हुने संकेत पाएकोले रगतको अभावलाई केही कम गर्ने उद्देश्यका साथ “रक्त दान गरौँ,जीवन दान गरौँ” भन्ने नाराका साथ सो रक्तदान कार्यक्रम सम्पन्न गरिएको अहमदीया संघ नेपालका काठमाडौँ जिल्ला इन्चार्ज समिन अहमदले बताए।

३९ जनाले रक्तदान गरेको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ कि कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, अहमदीया संघ नेपालका कार्यकारी निर्देशक मोहन मोइन राउत, कुमारी युवा क्लवका अध्यक्ष निरज थापा, रेडक्रस सोसाइटीकि प्रतिनिधी राधिका श्रेष्ठ, अहमदीया युवा संघका केन्द्रीय अध्यक्ष सलिम अहमद, निब्स विद्यालयका प्रधान अध्यापक देव नारायण महतो, महानगरीय प्रहरी प्रभाग मण्डिखाटारबाट प्रहरी सहायक निरीक्षक कृष्ण राज चौधरी लगायत विभन्न समाजसेवीहरुको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा कान्तिपुर अस्पताल,कन्ट्रोल एडिक्शन,कोभिड बालक अभियान लगायत संघ संस्थाहरुले समेत सहभागिता जनाएका थिए । रक्तदान पछि रक्तदाता लगायत उपस्थित प्रवुद्ध व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

तस्बिरहरु:समिन अहमद