• बैशाख १९ २०८३, शनिबार

सम्मानित भएपछि सरकारलाई पूर्व जनसेनाले दिए धन्यवाद

बैशाख १० २०७८, शुक्रबार

काठमाडौं /

लोकतन्त्रका योद्धाको रुपमा सम्मान गरेपछि बहिर्गमित जनमुक्ति सेनाले खुसीहुँदै सरकारलाई धन्यवाद दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले सरकारलाई धन्यवाद दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सो संगठनका केन्द्रिय अध्यक्ष रमेश बसेल ‘करण’ले यो व्यवस्था ल्याउन आफूहरुले गरेको योगदानलाई कदर गरेकोमा वर्तमान केपी ओली नेतृत्वको नेपाल सरकारलाई धन्यवाद दिए ।

तत्कालिन जनमुक्ति सेनाको अस्थायी शिविरबाट अयोग्यको बिल्ला भिराएर आफूहरुलाई निकाल्दा पनि शान्ति प्रकृयालाई सहयोग होस् भनेर आफूहरु शिविरबाट बाहिरिएको उनको भनाइ रहेको छ । तर अझैपनि शान्ति प्रकृया नटुङ्गिनु बिडम्बना भएको धारणा बसेलले व्यक्त गरे । अहिलेको सरकारले गरेको जस्तो सम्मान आफ्ना पूर्वसर्वोच्च कमाण्डर प्रचण्ड दुईपटक र नेता बाबुराम भट्टराई एकपटक सरकारको नेतृत्वमा पुग्दा समेत नगरेर आफूहरुको योगदानलाई प्रचण्ड र बाबुरामहरुले भुलेको उनले आरोप लगाए ।

इन्चार्ज, असिम आङबुहाङ्ग 'सुनिल'
इन्चार्ज, असिम आङबुहाङ्ग ‘सुनिल’

इतिहासमा योगदान गर्नेहरुलाई सानो भएपनि सम्मान गर्न केपी ओलीबाट प्रचण्डहरुले सिक्नुपर्ने धारणा पत्रकार सम्मेलनमा सो संगठनका इन्चार्ज असिम आङबुहाङ्ग लिम्बु ‘सुनिल’ले व्यक्त गरे । पत्रकार सम्मेलनमा बोल्दै संगठनका वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर कार्की ‘प्रदिप’ले आफूहरुलाई सम्मान गरेकोमा प्रधानमन्त्री के पी ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लोकतन्त्रका योद्धा, अभिलेखिकरण तथा सम्मान समितिका संयोजक परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका साथै खानेपानी मन्त्री मणिचन्द्र थापा लगायत आफूहरुको आन्दोलनमा सहयोग गर्ने मिडियाकर्मी, वकिलहरु र बौद्धिक समुदायलाई धन्यवाद व्यक्त गरे ।

सरकारले बहिर्गमित जनमुक्ति सेनालाई दिएको सम्मान पत्र
सरकारले बहिर्गमित जनमुक्ति सेनालाई दिएको सम्मान पत्र

पत्रकार सम्मेलन मार्फत् उनीहरुले आफूहरुले माओवादी सिद्धान्त नछोडेको बताउँदै आन्दोलनबाट एकाध मानिसहरु संसदवादमा पतन भएपनि माओवादी नसिद्धिने बताए । कार्यक्रममा उनीहरुले आफूहरु प्रधानमन्त्री ओली र प्रचण्ड कसैको पनि पार्टीमा संलग्न नभएको स्पष्ट गरे । बहिर्गमित जनमुक्ति सेनाहरुले विप्लवहरुले उठाएका मुद्धाप्रति सरकारमा बस्नेहरु गम्भीर हुनुपर्ने समेत बताए । सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमतिको इमान्दारिताका साथ पालना गरेर सो पार्टीका जेलमा भएका नेताहरुलाई बिनासर्त रिहा गर्नुपर्ने धारणा उनीहरुको रहेको छ । उनीहरुले फेरि पनि देशलाई द्वन्दमा धकेल्ने काम कतैबाट हुन नहुने समेत बताए ।

अध्यक्ष,रमेश बसेल 'करन'
अध्यक्ष,रमेश बसेल ‘करन’

पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेना नेपालको भरखरै सम्पन्न केन्द्रिय समितिको बैठकका निर्णयहरु समेटेर निकालिएको प्रेस विज्ञप्ति पनि पढेर सुनाइएको थियो । सो संगठनको बैठकले आफ्ना मागहरुमध्य १ नम्बरको माग पुरा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । संगठनले जनमुक्ति सेना नेपालको इतिहास र पहिचानको संरक्षण गर्न ‘संघर्षका गाथा’ पुस्तक प्रकाशन गरेर संगठनको आन्तरिक डिजिटल परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले संगठनको प्रदेश र जिल्ला भेला गर्ने निर्णय गरेको छ । संगठनलाई मजबुत बनाउने, हालसम्म प्राप्त उपलब्धीहरुको रक्षा र संस्थागत विकास गर्न निरन्तर संघर्ष गर्ने, आफ्नो संगठनले उठाएका मागहरुमध्ये सम्बोधन हुन बाँकी मागहरुबारे वार्ता, संवाद मार्फत् उचित व्यवस्थापनको प्याकेज सहित सम्पूर्ण मागलाई सम्बोधन गराउन सरकारसँग निरन्तर रुपमा सहकार्य र संवाद गर्दै जाने, आफूहरुले उठाएका मागहरुप्रति जनताको धारणा माग गर्ने, नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ साल फागुन २० गते भएको ३ बुंदे सम्झौतालाई यथाशिघ्र अक्षरस पालन गरी कार्यान्वयन गर्न नेपाल सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

उपाध्यक्ष,राजन थापा 'सुवास'
उपाध्यक्ष,राजन थापा ‘सुवास’

त्यस्तै संगठनको बैठकले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, जनजीविका र जनसरोकारका विषयको रक्षाको लागि जुनसुकै चुनौती मोलेर भएपनि अग्र मोर्चामा उभिएर संघर्ष गर्ने, विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि दोस्रो लहर शुरु भएको हुनाले जनताको गास, बास, कपास र स्वास्थ्यलाई ध्यानमा राखी वर्तमान सरकारलाई महामारी नियन्त्रण गर्न उचित कदम चाल्न आग्रह गर्दै सम्पूर्ण पक्षलाई यस महामारी नियन्त्रण गर्न आआफ्नो ठाउँमा सजक, सतर्क र जिम्मेवार बन्न आव्हान गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलन संगठनका अध्यक्ष रमेश बसेलको अध्यक्षतामा भएको थियोभने उपाध्यक्ष खड्गबहादुर रम्तेल ‘सम्राट’ले संचालन गरेका थिए । पत्रकार सम्मेलनमा उपाध्यक्ष राजन थापा ‘सुवास’को पनि उपस्थिति रहेको थियो ।