• बैशाख १९ २०८३, शनिबार

विरामीले अस्पताल भरिए, लकडाउन गर्न सुझाव

बैशाख १० २०७८, शुक्रबार

काठमाडौं । काठमाडौंका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियु र शैया भरिएका छन् । अस्पतालका शैया भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रिफर गर्नुपरेको जनाएका छन् । कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शैया भरिभराउ भएपछि अन्यत्र रिफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए ।

पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ । ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा.पाण्डेले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ ।

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन् । सरकारले उपचारका लागि शैया विस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा. कार्कीले बताए । ‘शययामात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन’, उनले भने ।

सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा. पाण्डेले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।