• आश्विन ५ २०८१, शनिबार

प्राणघातक रोबोट रोक्न राष्ट्रिय नीति ल्याउनु पर्छ : सहभागीहरु

फाल्गुन १३ २०७७, बिहीबार

काठमाडौं १३ फागुन ।
 
एक कार्यक्रममा सहभागीहरुले नेपाल सहित विश्वभरबाटै प्राणघातक रोबोटको प्रयोग निषेध गर्नका लागि राष्ट्रिय नीति बनाउन सरकार उदासिन भएको बताएका छन् । शान्ति र लोकतन्त्रकालागि महिला नेपाल (डब्लुपिडीएन) को आयोजनामा बुधबार राजधानीमा भएको कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वसांसद एवं मानवअधिकारकर्मी मल्ल के. सुन्दरले प्राणघातक रोबोटलाई नियन्त्रण गर्न  विद्यालयस्तरदेखि सामाजिक सञ्जाल तथा सञ्चार क्षेत्रबाट आम जनतामा चेतना फैलाउन आवश्यक रहेको बताए ।

उनले अहिले देखि नै प्राणघातक रोबोटलाई रोक्न सरकार संवेदशील नभए भावि दिनमा यसले नेपाललाई ठूलो असर पार्ने धारणा राखे । उनले यसको नियन्त्रणका लागि राष्ट्रिय बहसका साथै नीतिगत रुपमा अगाडी बढाउन सरकारको मुख्य भूमिका रहने बताए ।

उता नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले पनि प्राणघातक रोबोट्स निर्माणका लागि विश्वका धनि राष्ट्रहरुले अरबौं लगानी लगाएर किलर रोबोटको व्यापार गर्न थालेको बताएका छन् ।  ‘प्राणघातक स्वायत्त हतियार प्रणाली मानव जीवनको लागि चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै खरेलले भाविष्यमा विकासोन्मुख राष्ट्रहरु किलर रोबोट्सको पूर्ण स्वचालित हतियारका तालिम केन्द्र बन्ने खतरा समेत औंल्याए । उनले यस विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

कार्यक्रमका अध्यक्ष शोभा श्रेष्ठले किलर रोबोट रोक्ने अभियान विश्वका पचास भन्दा बढि देशका नब्बे बढि गैरसरकारी संस्थाको ऐक्यवद्धतामा सन् २०१२ मा सुरु भएको बताइन् । पूर्ण स्वचालित हतियारमाथि प्रतिबन्द लगाउनु पर्ने आवाज उठाउँदै आएको गठबन्धनले शक्तिको प्रयोगमा मानवीय नियन्त्रण अनिवार्य हुनुपर्ने माग राख्दै आएको जानकारी दिइन् ।

नेपाल मात्र नभई विश्वकै मानवका लागि प्राणघात रोबोट खतरा हुने थाहा पाएपछि यसलाई निषेध गर्नका लागि डब्लुपिडी नेपालले नेपालमा स्न २०१३ देखि नै निरन्तर लागि परेको बताइन् । अध्यक्ष श्रेष्ठले भनिन्,‘मानव जीवनको रक्षाका लागि प्राणाघात रोबोटलाई आजैबाट रोक्न सबैले आ-आफ्नो स्तरबाट भूकिा खेल्नुपर्छ ।’

कार्यक्रमका अधिकांश सहभागीहरुले किलर रोबोट मानव जीवनको लागि चुनौतिपूर्ण रहेको भन्दै कानुनीरुपमै यसलाई प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिए । प्राणघात रोबोट्स यस्तो हतियार प्रणाली हो जसले मानवीय नियन्त्रण बिना नै लक्ष्य छनोट गरेर आक्रमण गर्छ । घातक शक्ति प्रयोगको निर्णय एउटा मेसिनलाई दिइन्छ । यो किलर रोबोटमा एक स्वायत्त हतियार “प्रोग्राम” गरिएको हुन्छ ताकि एकपटक यसलाई परिचालित गरेपछि यसले आफै काम गर्छ ।

यो एल्मोरिदम र डाटा विश्लेषण प्रोग्रामिङमा आधारित भएर आफै लक्ष्य चयन गर्ने र गोली हाल्न समेत सक्षम हुनेछ । मानव निर्णय बिना नै मेसिनहरुसँग मानव मार्न वा भवन वा अन्य पूर्वाधार नष्ट गर्ने शक्ति हुने भएको हुँदा यो विषयमा नेपाल जस्ता विकासोन्मुख राष्ट्र समयमै संवेदशील नभए भावि दिनमा ठूलो चुनौति आइपर्ने सहभागीहरुले चासो र चिन्ता व्यक्त गरेका थिए । किलर रोबोटलाई जति सक्दो राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट नै रोक्ने नीति तथा सन्धि गर्नु पर्ने सहभागीहरुको भनाई रहेको थियो ।

कार्यक्रममा प्रध्यापक बुद्धिनारायण श्रेष्ठ, प्रोफेसर डा. वसन्तकुमार ढकाल, डब्लुपिडी नेपालका चाओएनलाई श्रेष्ठ, प्रदिप पोख्रेल, नेपाल कम्युनिष्ट पार्टीका पूर्वसांसद अमृता थापा, संघीय समाजवादी पार्टीका अर्जुन थापा, नेपाल विद्यार्थी संघका सम्झना केसी, नेपाली सेनाका पूर्वमेजर जर्नेल जगदिशचन्द्र पोख्रेल, रामचन्द्र बोगटी, प्रध्यापक रमेश जोशी लगायतले प्राणघातक रोबोटको बारेमा सम्बन्धित निकाय लगायत सरकारको ध्यानाकर्षण तत्काल हुनु पर्नेमा जोड दिएका थिए ।