• आश्विन ५ २०८१, शनिबार

नेपाली महिलाको पीडा कसरी हल गर्ने ?

पुष २६ २०७७, आईतवार

हामी २१औं शताब्दीका मानिस हौं भन्दा गर्व महशुस गर्दछौं । हामी आफूलाई वैज्ञानिक युगका मानिसको रुपमा चिनाउन चाहन्छौं तर हाम्रो सोच भने अहिले पनि यतिसम्म सङ्किर्ण अवस्थामा गुज्रिरहेको छ कि जसले एउटा मानव भएर पनि अर्को मानवलाई नमज्जाले हिंसा गरिरहेको हुन्छ । अझ स्पष्टसँग बुझ्नु पर्दा पुरुषप्रधान समाज भएको हुनाले महिलालाई लिङ्गको आधारमा विभेद र हिंसा गर्ने गर्दछ । घरभित्र होस् या बाहिर ।

जहाँ जुन अवस्थामा रहेपनि महिला भएकै कारण विभिन्न खाले हिंसा महिलाले खेप्नु परिरहेको छ । समाजमा महिला हिंसा निर्मुल भयो भनेर बाहिरबाट जति नै ठूला ठूला गफ लगाए पनि हिंसा घट्नुको साटो दिनप्रति दिन बढेको बढ्यै छ । किन कि हिजोदेखि नै हाम्रो समाजको संरचना र सोच त्यसरी नै बनेको छ जसले आजको २१औं शताब्दीमा होस् या वैज्ञानिक युगमा आइसक्दा पनि पुरुषप्रधान सोचले ग्रसित भएको हुनाले महिलामाथि हुने हिंसा र विभेदमा कमि आउन सकेको छैन ।

हाम्रो समाजमा महिला माथि हुने हिंसा र विभेदका प्रकार पनि फरक फरक छन् । चाहे माथिल्लो तहमा पुगेका महिलाहरु होस् या मध्यम वर्गमा रहेका महिला या त तल्लो तहका महिलाको अवस्थाको बारेमा बुझ्नु पर्दा सबै तहका महिलाहरुले हिंसा र विभेद खेपिरहेका छन् । हुन त कानुनले महिला पुरुष समान हुन् र समान अधिकार पाउनुपर्छ भनेर कानुनी दस्तावेजमा लेखिएको छ तर व्यवहारमा भने लागु हुन सकेको छैन् । आजका महिलाहरु पनि पुरुष सरह अग्रसर भएर घरदेखि बाहिर काम गर्न थालेका छन् । आफ्नो देशमा मात्र होइन विदेशमा गएर पनि कामकाजी हुन थालेका छन् तर घरदेखि विदेशसम्म पुग्दा त्यो महिला माथि कति पटक मानसिक र शारिरीक हिंसा भयो होला यो विषयलाई हामीले समान्य ढंगले लिई रहेका छौं ।

जसले गर्दा महिला माथि हुने हिंसाको मुद्धा उठान भएपनि पीडित पक्षले न्याय पाउन सकिरहेको छैन । न त आजसम्म राज्यले गतिलो कानुन बनाई दोषीलाई कारबाही नै गर्न सकेको छ । झन उल्टै दोषीलाई कारबाही गर्नुको साटो आर्थिक र सत्ताशक्तिको प्रलोभनमा परेर मेलमिलाप गरेर मुद्धा मिलाउने काम सम्बन्धित निकायबाट भइरहेको वर्तमान अवस्था हो ।

विशेष गरि यो आलेखमा वैदेशिक रोजगारमा गएका महिलाहरुको घटनाका विषयलाई उठान गर्न खोजिएको छ ।

हुन त आफ्नै देशमा काम गर्ने महिलाहरुमाथि पनि हिंसा नभएका होइनन् तर विशेष गरी बाध्यता र गरिबीका कारण खाडीमुलुक गएका महिला दिदी-बहिनीहरुको अवस्था दिनदिनै भयावह बन्दै गइरहेको छ जसले गर्दा यो विषयलाई सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्नकोलागि पनि यो आलेख लेखिएको हो । हाम्रो समाजमा एउटा उखान छ, ‘बोल्नेको मिठो पनि बिक्छ, नबोल्नेको चामलै बिक्दैन ।’ हो आज प्रत्येक महिलाहरु आफ्नो हक अधिकार र सुरक्षाको लागि बोल्न जरुरी छ । अनि आफूमाथि हिंसा गर्ने विरुद्ध आवाज उठाउन जरुरी छ ताकी भोलिको दिनमा महिला भएकै कारण फेरि फेरि त्यसरी हिंसात्मक घटनाको शिकार हुन नपरोस् ।

वैदेशिक रोजगारमा गएका महिलाहरुमाथि आफ्नै नेपाली दाजूभाईबाट बढी हिंसा भएका घटनाहरु सुन्नु पर्दा सुरुमा हामीलाई विश्वास नै लाग्दैन होला एकछिन हामी सबैले होइन होला भनेर विश्वास गर्दछौं । झट्ट हाम्रो दिल दिमागमा नेपाली दाजूभाईले किन आफ्नै दिदी बहिनीलाई हिंसा गर्दछ ? उनीहरुलाई त विदेशी मालिकहरुले गर्ने हो हिंसा भनेर हामी जोकोहीको मुखारबिन्दुमा आउने शब्दहरु हुन् तर वास्तवमा भन्ने हो भने हालैको एउटा संस्थाले गरेको तथ्यांकले समेत वैदेशिक रोजगारमा गएका महिला दिदी-बहिनीहरु माथि आफ्नै नेपाली दाजूभाईबाट हिंसामा परेको घटनाहरु देखा परेका छन् ।

सहयोगको नाममा आफ्नै नेपाली दाजूभाईले बलात्कार गरि गर्भवती बनाएर मर्नु न बाँच्नु बनाएर छाडेको घटना बाहिर आएको छ ।

यो त खोजबिन गर्दा आएका वास्तविक घटनाहरु हुन अझ पर्दा पछाडिका घटनाहरु कति छन् कति, जसको बारेमा बुझ्दै जाँदा खोज्दै जाँदा यति डरलाग्दो अवस्थामा महिलामाथि शारीरिक र मानसिक हिंसाले जरो गाडेको छ । एकजना महिलाले नाम नभन्ने सर्तमा यसरी आफ्नो कुरा राखिन् । गरिबीका कारण वैदेशिक रोगजारमा जाँदैगर्दा विदेशको ठाउँमा अलपत्र परेपछि एकजना नेपाली दाई भेटिनु भयो । आफ्नै नेपाली दाईभार्ई हो भनेर सहयोग मागे तर सहयोगको बदलामा म अबला नारी माथि घात गरियो ।

मेरो इज्जत लुटियो । त्यसपछि त्यो दाई म बजार गएर आउँछु भनेर आजसम्म पनि फर्किएर आएन । यो त एउटा उदाहरण मात्र हो ती महिला जस्तै अन्य थुप्रै महिला दिदी–बहिनीहरु वैदेशिक रोजगारमा जाँदा उनले जस्तै मानसिक र शारिरीक हिंसाको चपेटामा पर्नु परेको छ । अनि त्यही हिंसा र बलात्कार गर्ने पुरुषले ठूलो स्वरले भन्ने गर्दछ बंगाली, भारतीय बर्मेली नाठाहरुको नाजायत सन्तान हो भनेर । आज हामीले सामाजिक सञ्जालदेखि विभिन्न युटूव च्यानल र अनलाईन खबरहरुमा लेखिएका समाचारहरु पनि हेर्ने गर्दछौं ।

वास्तविकतालाई नबुझी एउटा महिलाको चरित्रलाई यसरी उदाङ्गो बनाई दिन्छ जसलाई न घरले स्वीकार्न सक्छ, न त उ समाजमा इज्जतसँग बाँच्न सक्छ । तर पनि हरेक घटनाको दोषी एउटा महिलाले भोग्नुपर्छ । कतिपय महिलाले पीडा र अत्याचार सहन गर्न नसकेर आत्महत्या गरेर ज्यान गुमाउनु परेको छ । यसरी हाम्रो समाजमा महिलामाथि हिंसा भइरहेका छन् । हामीले सामाजिक सञ्जालमा पनि देखेका छौं केही महिना अगाडि कोभिडकै कारण विदेशबाट धेरै महिलाहरु नेपाल फर्किए ।

किन कि कोभिडका कारण उनीहरुले ऋण काढेर विदेश छिरेपनि काम गर्ने वातावरण नमिलेपछि नेपाल फर्किनु पर्ने अवस्था सिर्जना भयो । त्यहीक्रममा महिला दिदी-बहिनीहरु स्वदेश आउन निकै कसरत गर्नु पर्यो । सयको हाराहारीमा गर्भवती महिलाहरु पनि नेपाल आए । गर्भवती महिलाहरु नेपाल आएपछि समाचार छ्याप्ती छया्प्ती समाजिक सञ्जालमा छाए अनि विशेष गरी हाम्रै नेपाली दाजूभाईहरुले ती दिदी-बहिनीहरुहरुलाई यति हदसम्म गिरेर कमेन्टहरु गरे त्यसले ति दिदी बहिनीहरुलाई कस्तो असर परेको होला भनेर कमेन्ट गर्नु अगाडि एकपटक सोच्नु पर्दथ्यो तर सोचिएन किन कि ति जति पनि दिदी-बहिनीहरु गर्भवती भएर आएका थिए उनीहरु आफ्नै श्रीमानका बच्चालाई बोकेर आएका थिए तर उनीहरुलाई विदेशीको नाजायत सम्बन्ध बोकेर आएको आरोप लगाइयो ।

ती दिदी-बहिनीहरुको चरित्रलाई यसरी धुजाधुजा बनाइयो ।

एक त ती आफै गर्भवती छन् त्यसमाथि कोभिडको कारण मर्ने हो कि बाँच्ने हो भन्ने अवस्थामा छन् । त्यहीबेला यसरी हाम्रो पुरुषप्रधान समाजले यति ठूलो मानसिक हिंसा गरे जसलाई ती दिदी–बहिनीहरुले चाहेर पनि जीवनमा भुल्न सक्ने छैनन् । हामीले जति नै वैज्ञानिक युगको कुरा गरेपनि सभ्य समाजको कुरा गरेपनि हामी २१औं शताब्दीका मानिस हौं भनेर छाती फुलाएपनि हाम्रो दिलदिमाग कसरी परिचालित भइरहेको छ भन्ने कुराले अर्थ राख्दछ ।

इज्जत,मान र प्रतिष्ठा सबैकालागि प्यारो हुन्छ अनि अनमोल हुन्छ चाहे पुरुषलाई होस् या महिलालाई । विदेशी महिलाको हकमा त्यति जानकार नभएपनि नेपाली महिलाको हकमा कुनै पनि महिलाले जानी जानी आफ्नो अस्त्वि मेटाउन चाहँदैन । र कुनै पनि महिलाले आफ्नो इज्जत नामेट होस् भनेर बलीको बोका बन्न चाहँदैन् । होलान् यदाकदा कोही तर प्रायः महिलाहरुलाई आफ्नो इज्जत र परिवारको इज्जत ख्याल राख्ने गर्दछन् तर महिलाको अस्त्वि र इज्जतलाई नामेट मार्ने काम भने यही पुरुषप्रधान समाजबाट भइरहेको छ ।

चाहे झुठो प्रेमको नाममा होस् या त आफ्नो इच्छा पूरा गर्न जबरजस्ती बलात्कार गरेर होस् आफ्नो स्वार्थ पुरा भएपछि महिलालाई लात हानेर फालिदिने गर्दछन् कि त हत्या गरी मार्ने गर्दछन् । यो हामी सबैलाई थाहा भएको कुरो हो तर पनि हामी सत्यको लागि बोल्न डराउँछौं । अझ आफ्नो इज्जतमा दाग लाग्यो भने महिला झनै मौन बस्दछ किन कि बोल्यो भने समाजमा मेरो इज्जत जान्छ भनेर ऊ केवल चुपचाप बस्ने गर्दछ । जसले गर्दा यो पुरुषप्रधान समाजले महिलाको अस्तित्व लुटिरहेको छ र महिला माथि दिनदिनै हिंसा गरिरहेको छ । ती हिंसा गर्ने पुरुषले कहिले पनि सोच्न सकेन होला ।

म पनि एउटा महिलाको गर्भबाट यो धर्तिमा जन्मिएको छु । मेरो पनि आमा छिन्, मेरो पनि दिदीबहिनी छन्, मेरो छोरी छन्, मैलै अरुलाई त्यसरी हिंसा गर्न हुँदैन र अरुको दिदीबहिनी छोरीलाई गलत तरिकाले हेर्नु हुँदैन भनेर किन सोचिदैन ? यदि यस्तो खालको सकारात्मक सोचको विकास भइदिएको भए आज कुनैपनि छोरी, चेली, दिदी-बहिनीले बलात्कृत भएर ज्यान गुमाउनु पर्ने थिएन । र आज घरभित्र मात्र होइन घर बाहिर या त संसारको जुनैठाउँमा गएपनि महिलाहरुले आफ्नो इज्जतका साथ ढुक्कसँग काम गर्न सक्थे र पुरुषलाई देखेर डराउनु पर्ने अवस्था सिर्जना हुने थिएन ।

आज यसरी दिनप्रतिदिन महिला तथा बालबालिकामाथि भइरहेको दुव्र्यवहार, बलात्कार जस्ता जघन्य हिंसाका घटनाले पनि हरेक छोरीचेलीहरु आफ्नै परिवारदेखि डराउनु पर्ने अवस्थाको विकास भइरहेको छ । बाह्य अवस्थाको त के कुरा गर्ने, तर लिङ्गको आधारमा महिला हिंसा घटाउनेमा सबै पुरुष हुन्छन् भन्न खोजिएको होइन थोरै पुरुषहरु छन् जसले महिलाको हक अधिकार र हौसला प्रेरणाको बलियो पिलर बनेर पनि उदाहरणीय काम गरेर देखाएका छन् ।

वैदेशिक रोजगारमा गएर आफ्नै नेपाली दाजुभाईदेखि त्यसरी हिंसा खेपेर स्वदेश आइसकेपछि आफ्नै घरपरिवारले समेत ती दिदी-बहिनीहरुलाई स्वीकार नगरेपछि उनीहरुको जिन्दगी कष्टकर अवस्थामा बिताउनु परेको छ । त्यस्तो पीडादायी अवस्थाको सिर्जना कसले गर्याे भन्ने विषयमा न त घर परिवारले बुझ्ने प्रयास गरेका छन् न त राज्यले नै उनीहरुको समस्यालाई समाधान गरी गास, बास र कपासको व्यवस्था गर्न सकेको छ ।

उल्टै महिला नै त्यस्तै खराब हो भनेर घरपरिवार समाजले औंला ठड्याउने काम गरेको पाइन्छ । कुनै पनि महिलाले आफ्नो इज्जत खसाल्न होस् भनेर चाहँदैनन् ।

महिलाको इज्जतलाई कमजोर बनाउने त यही पुरुषप्रधान समाज हो । हामीले समाजमा महिलाको इज्जतलाई कसरी हेरिरहेका छौं भनेर प्रत्येक मानिसले छातीमा हात राखेर महशुस गर्न जरुरी छ । महिला भनेको केवल यौन सन्तुष्टी दिने वस्तु मात्र होइन भनेर बुझ्न आवश्यक छ । जबसम्म प्रत्येक मानिसले आफ्ना दिलदिमागबाट यस्ता घिनलाग्दा सोचलाई परिवर्तन गर्न सक्दैन तबसम्म यो समाजमा महिला दिदी-बहिनीहरु हिंसा र विभेदको शिकार भइ नै रहन्छन् । लिङ्गको आधारमा महिलालाई जसरी हिंसा गरिँदै आएका छन् ।

यो सबै घटना घट्नुको कारण हाम्रो देशको राजनीतिज्ञहरु इमान्दार नभइदिँदा आजका दिनसम्म पनि नेपाली नागरिकहरु विदेशी भूमिमा हेपिएर दबिएर मात्र होइन विभिन्न खाले शारीरिक र मानसिक हिंसा खेप्दै बाँच्नु परिरहेको छ । बाध्यता र विवशता अनि गरिबीका कारण वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमध्ये बढीजसो महिलाहरुले हिंसा खेप्नु परेको छ । तर सरकारलाई भने औंशी न पूर्णे जस्तै छ । जसले गर्दा वैदेशिक रोजगारमा गएका महिला दिदी-बहिनीले हिंसा खेप्नु परिरहेको छ । इज्जतका साथ काम गर्न सकिरहेका छैनन् । तर सरकारलाई भने रतिभर चिन्ता र चासो छैन । न त नेपाल मै महिला दिदी-बहिनीकोलागि स्वरोजगारको विकास गर्न सकेको छ यदि विदेशमै जाने हो भने पनि उनीहरु कुन देश जाँदैछन् चाहे घरेलु कामदारकालागि जाँदैछन् भने पनि उनीहरुलाई व्यवसायिक तालिम दिएर पठाउन सक्नु राज्यको जिम्मेवारी हो ।

जसले गर्दा वैदेशिक रोजगारमा गएर महिलाहरुले हिंसा खेप्न नपरोस् । अर्को कुरो, यदि बाध्यताले विदेश छिर्नु परेका महिला दिदी-बहिनी छन् भने पनि नेपाली दाजूभाईले उनीहरुलाई आफ्नो घरको दिदी-बहिनी सम्झेर उनीहरुलाई सहयोग गर्न सक्नुपर्छ । ताकि उनीहरुलाई पनि विदेशी भूमिमा आफ्नो घरपरिवारको आभास होस् । विदेशमा काम गर्न गएका सबै नियत खराब भएका छन् भन्न पनि मिल्दैन कतिपय नेपाली दाजूभाईले अलपत्रमा परेका दिदी-बहिनीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

यदि साँच्चै नै सम्वृद्धि नेपाल र सुखी नेपालीको नारालाई व्यवहारीकरुपमा कार्यान्वयन गर्ने हो भने नेपाल सरकारले जनहितकोलागि आफ्नै स्वदेशमा जनताहरुलाई रोजगारको व्यवस्था गर्न जरुरी छ । यदि नेपालमा रोजागार दिन सक्दैन विदेश पठाउने हो भने त्यही अनुसारको सिपमुलक तालिम र शिक्षाको व्यवस्था गर्नु पर्छ । कसैलाई पनि आफ्नो घर परिवार देशलाई छाडेर अर्काको देशमा रगत र पसिना बगाउन रहर हुँदैन तर सरकारले बुझिबुझी बुझ पचाइरहेको छ ।

ताकि आजको दिनसम्म पनि नेपाली जनतालाई काम गरी खाने रोजगारको व्यवस्था सिर्जना गर्न सकेको छैन जसले गर्दा आज खाडीमुलुकमा गई रगत र पसिना बगाउनु परेको छ । महिला दिदी-बहिनीहरु अस्तित्व बिहीन भएर बाँच्नु परेको छ । त्यसैले अब पनि राज्य आफ्ना जनताहरुकोलागि सम्बेदनशील हुन सकेन भने आम जनताहरु जाग्न जरुरी छ । निमुखा जनताको भोको पेट र गरिबी सरकारको उखान टुक्काले मेटिँदैन । त्यसैले अबदेखि जनताको हितकोलागि सरकारले काम गर्न जरुरी छ यदि जनप्रेमी सरकार हो भने होइन भने तिम्रा उखान टुक्का र सत्तालिप्तताले जनताको भोको पेट भर्न सक्दैन । बेलैमा चेतना भन्या ।