काठमाडौं । पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले देशभर विरोध प्रदर्शन गरेको छ। पत्रकार महासंघले बुधबार देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड,प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास लगायतकाविरुद्ध पत्रकार महासंघले देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
यसैक्रममा पत्रकार महासंघ काठमाडौं शाखाले बबरमहलस्थित प्रशासन कार्यालय बाहिर ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’भन्ने व्यानरसहित प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अध्यादेश फिर्ता नलिएसम्म,कानुन निर्माणमा हस्तक्षेप कायम रहेसम्म र धरपकड गर्ने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारिन्।
समाचार लेखेका आधारमा प्रहरी हस्तक्षेप हुने,साइबर ब्युरोमा स्रोत खुलाउन दबाब दिने,दैनिक रूपमा पत्रकार पक्राउ गर्ने तथा न्युजरुमभित्र पसेर पक्राउ गर्ने प्रवृत्ति बढेको भन्दै उनले आपत्ति जनाइन् ।
उनले दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै मिडिया काउन्सिलऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन र सरोकारवालासँग छलफल गरी संसद्बाटै कानुन ल्याउन माग गरिन्।
त्यस्तै अध्यक्ष शर्माले लोककल्याणकारी विज्ञापन कटौती गरिएको तथा सर्वोच्च अदालतले खारेज गरेको आदेशसमेत कार्यान्वयनमा नआएको उल्लेख गर्नुभयो ।
मंसिर २ गतेदेखि ९ गतेसम्म आन्दोलनको कार्यक्रम तय गरेको महासंघले माग पुरा भएको भन्दै आन्दोलनको अर्को कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।