सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रतिपक्षी नेपाली काङ्ग्रेसमा भूराजनीतिक प्रभावको असर देखिन थालिसकेको छ । जेन्जी आन्दोलनपछिको सङ्क्रणकालिन नेपाली राजनीतिमा सत्ताधारी र प्रतिपक्षी दलहरूले केही स्थायी आकार ग्रहण गर्न थालेसँगै यी दुईको बाह्य रङमा केही बदलाव आउन थालिसकेको छ ।
चार्ल्स डार्विनको विकासवादी सिद्धान्त होस् वा कार्लमार्क्सको वर्गसङ्घर्षको सिद्धान्त नै ! यी दुवैले बदलिँदो प्रकृति र परिवेशअनुरूप हरेक जीव तथा वनस्पतिले आआफ्ना बाह्य स्वरूपमा पनि क्रमशः प्रकृतिअनुकूल बदलाब देखाउन थाल्छन् । यिनको भित्री शरीरमा पनि तदनुरूप परिवर्तन आउन थालिसकेको हुन्छ ।
जीव तथा वनस्पतिमा सबैभन्दा चलाक र सचेत भनेको मानव हो । यो मानव जातिभित्र राजनीति गर्ने मानवको पङ्क्ति त दीर्घकाल होइन, तत्काल तत्काल फेरबदल भइरहन्छ । विश्व महाशक्तिहरूको प्रभाव र दबाबले निर्णायक महत्व नै राख्ने नेपालजस्तो देशमा त यो बदलाव यत्ति छिटो हुन्छ कि कुनै व्यक्ति कतै जाँदा एउटा र फर्कंदा अर्को भइसक्छ ।
साँझ एउटा रङ र आकारमा सुतेका नेता र नेताका पङ्क्ति अर्को दिन बिहान उठ्दा अर्कै रङ र आकारमा प्रस्तुत हुन थालिसकेका हुन्छन् । रातभरको घुर्की, धम्की, लालच र बार्गेनिङको प्रक्रियाले उनीहरूमा १८० डिग्रीको परिवर्तन ल्याइसकेको हुन्छ ।
जेन्जी आन्दोलनपछि रास्वपा सत्ताधारी पार्टी बन्न पुग्यो । यो मूलतः अमेरिकाको ‘ब्याकअप’मा उदाउन पुगेको हो । यसअघिका सत्ताधारी पार्टी काङ्ग्रेस, एमाले र माओवादी भारत र चीनको ‘ब्याकअप’मा उदाउने र अस्ताउने गर्दथे । अमेरिका र अमेरिकी प्रभाव हाबी हुन नदिन गठबन्धनको साङ्लो पनि निर्माण गर्ने गर्दथे ।
तर जेन्जी आन्दोलनको मुखमुखमा आउँदाका बखत अमेरिकी प्रभाव यति बढ्यो कि गठबन्धन नै धरमराउन पुग्यो । हुन त जेन्जी आन्दोलन पूर्वका सत्ताधारी तीन दलले पनि अमेरिकाको मिलेनिम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाटै पारित गरिदिएका थिए । तथापि जेन्जी आन्दोलनका नाममा यी सबै दण्डित भए ।
त्यसपछि निर्मित सत्ताधारी रास्वपा प्रवृत्तिका हिसाबले ‘प्रोअमेरिकन’ र प्रतिपक्षी दल नेपाली काङ्ग्रेस ‘प्रोइण्डोअमेरिकन’को रङमा उदाए । पहिलेका देउवा नेतृत्वको काङ्ग्रेस, एमाले र माओवादी बेदखलमा परिसकेका थिए । फलतः भारत र चीनको प्रभावमा न्युनता महसुस हुँदै गयो ।
तर नेपाली राजनीतिमा वैदेशिक प्रभाव र हस्तक्षेप सदैव ‘एकको दुईमा विभाजन’का रूपमा देखा पर्ने गरिरहेको छ । परिणामतः अमेरिकी व्याकअपमा उदाएको रास्वपा अहिले दुई धारमा बाँडिन थालिसकेको छ । प्रधानमन्त्री बालेन शाह अमेरिकी खेमामा र पार्टी अध्यक्ष रवि लामछाने तथा अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतका नेता दिल्लीको पक्षमा तानिदै र कित्ताबन्दी हुँदै गइरहेका छन् । साथसाथै, प्रतिपक्षी दल नेपाली काङ्ग्रेस अमेरिकी लबीमा बढी देखिन थालिसकेको छ ।
आफूहरूलाई संशोधनवादी र क्रान्तिकारीको दुईध्रुवमा कित्ताबन्दी गर्दै आएको कम्युनिष्ट धाराभने अनिर्णित र अस्तव्यवस्तताको अवस्थामै छ । आन्दोलन गर्ने र पुनः सङ्ठित हुने कुरा गरे पनि अबका दिनमा ठूलो राजनीतिक झड्का बेहोर्ने यही पङ्क्ति नै देखा परेको छ ।
यो धाराको ‘कम्युनिष्ट’ नाम दिए पनि चीनसँग भ्रातृ तथा मैत्री सम्बन्ध बलियो रहिआएको छैन । चिनियाँ विशेषताको कम्युनिष्ट आचार, विचार र कर्ममा नेपालका कम्युनिष्टले न त बहस चलाएका छन्, न त सहमत नै हुन सकेका छन् । यसले सम्बन्धको धरातल अपरिपक्व नै राखिरहेको छ ।
विश्व व्यापारमा अग्रस्थान हासिल गरिरहेको चीन स्वयम् अमेरिकासँग सिधासिधा बहस, भेटघाट र तनाव व्यवस्थापनमा जुटिरहेको छ । यसको सिधा प्रभाव वर्तमान नेपाली राजनीतिमा नपर्ने कुरै भएन । यसको सिधा अर्थ हो, अमेरिका विरोधी शक्ति नेपालमा पालिरहनु पर्ने झञ्झट चीनलाई तत्काल भने छैन ।
नेपाली कम्युनिष्ट पार्टीहरूको पिपलपाते क्रियाकलापले पनि चीनलाई सशङ्कित गराउने गरिरहेको छ । नेपालका कम्युनिष्ट पार्टीलाई भारत र चीन दुबैको प्रत्यक्ष समर्थन नमिलेको यो अवस्थामा अस्तित्व रक्षाका लागि पनि यिनले आन्दोलन उद्घोष गर्ने विकल्प खोजिरहेका छन् । परन्तु जनताले यिनलाई साथ देलान् भन्ने भरपर्दो आधार भने देखिदैन ।