• मंसिर १० २०८३, बुधबार

रचनात्मक सोच निर्माण गर

मंसिर १० २०८३, बुधबार

यो वर्षको चाडपर्व हल्लैहल्लामा बित्यो । संसदमा रहेका प्रतिपक्षी कम्युनिष्ट पार्टीहरूले दसैं, तिहार र छठलगत्तै देशव्यापी आन्दोलन गर्ने हल्ला फिँजाए । सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्धले आन्दोलन गर्नेलाई ‘ठेगान लगाउने’ प्रचार गरिरहे ।

तर कसैको पनि सिर्जनात्मक नीति, योजना र कार्यक्रम यस बीचमा प्रचारमा आएनन् । कार्यक्रमिक हिसाबले सत्तापक्षीय पार्टीले पनि ६ महिना पछिका नयाँ कार्यक्रम केही सुनाएन । प्रतिपक्षी भने विनाहैसियत सरकार फेरबदल गर्ने हावादारी प्रचारमै रमाए ।

जनता काम हेर्ने ताकमा छन् । ‘कसको सरकार’ र ‘आन्दोलन कसको’ भन्ने कुरामा आकर्षित छैनन् । प्रचार सबैका हावादारी हुन् भन्नेमा हेक्का राख्छन् जनता ! काम कसले गरेर देखाउने हो ? उसैले जनताका बीचमा बाजी मार्ने मनोविज्ञान व्याप्त छ जनमानसमा ।

देशमा स्थानीय निर्वाचनको माहोल सिर्जना हुन थालिसकेको छ । समयले पनि यसको स्मरण गराइरहेको छ । जनता अझैं पनि स्थानीय निर्वाचनमा त्यति गम्भीर भइसकेका छैनन् । रास्वपाले सरकारमा गएर पनि त्यति आशाप्रद काम गर्न सकिरहेको छैन । पुराना दलहरू सच्चिएर जनताका माझमा आउने छाँट पनि छैन ।

अझैं पनि गठबन्धन गरिएमा त्यो अभिशाप मात्र साबित हुनेछ । गठबन्धन गरिएका पार्टीका कार्यकर्ता स्वयम् गठबन्धनका उमेदवारलाई भोट दिने पक्षमा छैनन् । एकल पार्टी प्रतिस्पर्धाका लागि फिल्डमा उत्रनु पर्ने अवस्था बनिरहेको छ । यो बेलामा ‘तामसी खाजासेट’ तयार पार्नुको सट्टा सिर्जनात्मक नीति, योजना र कार्यक्रम जनताका माझमा ल्याउनु राजनीतिक पार्टीका लागि बुद्धिमत्तापूर्ण कार्य हुनेछ ।

जनताले विभिन्नखाले युद्ध, आन्दोलन र सरकारका सप्तरङ्गी रूपरङ्ग देखिसकेका छन् । अबका दिनमा कुनै पनि तिलस्मी राजनीतिक हुइँय्यामा जनता दगुर्ने देखिदैन । जनस्तरमा सापेक्ष राजनीतिक परिपक्वता देखिन थालिसकेको पनि छ ।

त्यसैले राजनीतिक पार्टीहरू, सिर्जनात्मक बन्न प्रयास गर ! गालीगलौज र आरोप प्रत्यारोपको राजनीतिक संस्कार अबका दिनमा स्वीकार्य छैनन् । ‘नहुनु मामाभन्दा कानो मामा निको’मा जनता बटुलिन थालिसकेका छन् ।