• मंसिर १० २०८३, बुधबार

तरल राजनीतिमा ठोस परिणामको खोजी

मंसिर १० २०८३, बुधबार

नेपाल अहिले त्रिकोणीय राजनीतिक सोचको त्रिवेणी सङ्गममा छ । मानिसका आआफ्‌ना पक्षधरता पनि छन् । केही आशा पनि छन् । यसले चूपचाप नियाल्ने अवस्थामा देशलाई सघाएको छ ।

पुराना राजनीतिक दलप्रति वितृष्णा, नयाँ सरकारप्रति आशा र विकल्प खोजीको तेस्रो कोणको पर्खाइ यस शान्त त्रिवेणीका तीन मुख्य शाखा हुन् । यसभित्र आफ्‌नै अस्थायी धार निर्माण गर्न सदैव प्रयत्नरत रहने अवसरवादी शाखा तीनतिरै घुलमिल गरिरहेको छ ।

वर्तमान सरकारलाई समर्थन गर्नु अन्धभक्ति, पुराना दलहरूको आलोचना गर्नु पूर्वाग्रह र अवसरको खोजी गर्नु क्रान्तिकारी परिभाषित गरिन थालिएको छ । भिन्न मनोविज्ञान र राजनीतिक प्रवृत्ति पनि केही हौसिन थालेका देखिन्छन् ।

तीनमध्ये पहिलो धारमा सरकार आफै छ । दोस्रो धारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी छन् । तेस्रो धारमा पुराना दलहरूसँग मिच्छिएका, अघाएका र तिनका कार्यशैलीबाट वाक्कदिक्क भएका नागरिकको ठूलो हिस्सा छ । यही हिस्साले केही समय पर्खेर वर्तमान सरकारलाई नियालिरहेको छ ।

यिनै तीन त्रिकोणीय धारामा नागरिकको चेतना, अपेक्षा, आशा, निराशा र भविष्य अभिव्यक्त भइरहेको छ । नेपाली जनआकाङ्क्षा विभाजित छ । ध्रुवीकरणको आधार रहेको छ । यसले नयाँ ध्रुवीकरणमा स्वतः अघि बढाउने छ ।

काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद, एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइसौं शताब्दीको जनवादले देशको समस्या हल गर्न सकेनन् । ती दलहरूको नेपाली लोकतान्त्रिक आन्दोलन र इतिहासमा ठूलो योगदान पनि छ । तथापि तिनले जनता सन्तुष्ट बनाएर, निकास दिएर अनि विकास दिएर काम गर्न सकेनन् ।

इतिहासको व्याज खाएर राजनीति चल्दैन । एउटै नेता वा नेतृत्व सधैं योग्य भइरहँदैन । परिवर्तित परिस्थितिअनुसार नेताले देख्न, बुझ्‌न र काम गर्न सक्नु पर्छ । यदि यसो गर्न नसकिएमा राजनीतिक इतिहासमा महत्वपूर्ण योगदान भएर पनि जनताका मनमस्तिष्कमा बास पाउन गाह्रो हुन्छ ।

नेपाली प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक अधिकारको स्थापना र रक्षा, गणतन्त्र प्राप्ति र समयअनुकूल संविधान परिवर्तन र निर्माणमा यी पुराना रहे पनि बदलिँदो परिस्थितिको मामला बुझ्‌न यी सबै चुके र पछि परे ।

इतिहासमा गरेका जतिसुकै महत्वपूर्ण योगदान रहे पनि वर्तमानमा त्यसले सधैँ जनताको समर्थन पाइरहने सुनिश्चितता गर्दैन । राजनीतिक दल भनेको जनताको विश्वासबाट जन्मने शक्ति हो । जनताको अपेक्षा सम्बोधन, प्रगति र उन्नति तथा समयानुकूल रूपान्तरण यसका अनिवार्य कुरा हुन् ।

सापेक्ष लामो समय सत्ताभ्यासमा रहँदा दल र नेतृत्वप्रति अविश्वास बढ्न जान्छ । दलभित्र पनि सत्तामोह, गुटबन्दी, अवसरको खोजी, काम गराइमा देखिन थाल्छन् । जनताले योभन्दा राम्रो काम गर्ने छान्न पाए भनेर सोच बनाइहाल्छन् । एउटै अनुहारको हालीमुहाली जनता चाहँदैनन् ।

देशमा पटकपटक सरकार परिवर्तन हुने तर उनै अनुहारको साटाकोल्टामात्र हुने कुराले जनतामा निराशा ल्यायो । नेताहरूमा प्रगतिको सोचभन्दा पनि इर्ष्या र पूर्वाग्रहले घर गर्नथाल्यो । राज्य बपौतीझैं प्रतित हुन थाल्यो । उनै अनुहार, पटक पटक उनीहरूकै समीकरण, आधारभूत परिवर्तनहरू शुन्य अनुभूतले जनतामा निराशा ल्यायो । यसले जनतामा मत परिवर्तन गर्न उर्वरभूमि प्रदान गरायो ।

फलतः नयाँ सरकार निर्माणमा जनचासो बढ्दै गयो । अहिलेको सरकारलाई समर्थन गर्ने सबै मानिस पार्टीका कार्यकर्ता र समर्थक मात्र होइनन् । स्वतन्त्र नागरिक, वौद्धिक, युवा, व्यावसायी, विद्यार्थी र वैदेशिक रोजगारमा गएका पनि छन् ।

यीमध्ये धेरैले वैयक्तिक लाभको चाहना गरेको पनि देखिदैन । बरू सार्वजनिक उन्नति र प्रगतिको कामना गरेको देखिन्छ । यो वर्तमान सरकारका लागि सकारात्मक पक्ष हो । तर यसको अर्थ यो पनि हो कि यदि वर्तमान सरकारले जनमुखी काम गर्न सकेन वा चाहेन भने यसको विकल्प खोज्न जनताले रत्तिभर ढिलाइ गर्ने छैनन् ।

जनताले वैकल्पिक मार्ग पनि हेरिरहेका छन् । तर वैकल्पिक मार्गमा देखिने नेतृत्व वा संगठनको विश्वसनीयता खोजिरहेका छन् जनता । जनता विचार वा भिन्न मतमा त्यति बढी तानिन चाहिरहेका छैनन् । बरू राष्ट्रिय पहिचान र एकताको चाहना गरिरहेका छन् ।

देशको समस्या समाधान गर्ने नेतृत्व खोजिरहेका छन् । बोलेका राजनीतिक प्रतिबद्धता व्यवहारमा उतारेर उदाहरण कायम गर्ने संस्था वा सङ्गठन खोजिरहेका छन् । अबको राजनीतिमा सरकारको कमजोरी पर्खेर बस्ने समय कसैसँग छैन ।