मंसिर ३ र ४ गते (नोभेम्बर १८ र १९) खुलापन, नवप्रवद्र्धन र सहकार्यको विषयलाई लिएर चीनको सेन्जेन सहरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको त्रिपक्षीय शिखर बैठक भएपछि विश्वमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
वैठकलगत्तै तीन महाशक्तिले संयुक्त वक्तव्यका रूपमा जारी गरेको शान्ति घोषणापत्रको अध्ययन, पुनःअध्ययन र विश्लेषण सबैको चासोको विषय बनिरहेको छ । यस अर्थमा कि अबको विश्व कहाँ जाँदैछ ?
देशका आआफ्ना व्यवस्था छन् । तिनका आआफ्ना सीमा पनि छन् । तर विश्व व्यवस्थाको आफ्नै सीमा छैन । सिङ्गो पृथ्वी र मानव वस्ती यसको क्षेत्र हो । २१औं शताब्दीमा आइपुग्दा विश्व व्यवस्था कहाँ र कतातिर लैजाने भन्ने कुरा पनि गहिरो गरी उठिरहेको छ ।
विश्वमा देश वा राष्ट्रको हैसियत अहिलेसम्म कायम रहिरहेको र साना ठूला गरी करिव २०० भन्दा धेरै देशहरू अस्तित्वमा रहिरहेकाले विश्व व्यवस्था चलाउँदा कुन चाहिँ देशले पहिलो स्थान लिने भन्ने होड अद्यावधि छ । एकताका बेलायतको साथमा युरोपले लिएको विश्व व्यवस्थाको जिम्मा दोस्रो विश्वयुद्धपछि एकलौटी अमेरिकाको हातमा गएको थियो ।
यसबीचमा अमेरिकाले समाजवादी रूसले उछिन्ने खतरा देखेपछि लामो शीतयुद्धको लडाइँ चल्यो । समाजवादी रूसको भूगोल १५ गणराज्यमा विखण्डन हुन पुग्यो । परिणामतः विश्वको एकलौटी राज अमेरिकाको हातमा पर्न गयो ।
अहिले बदलिँदो परिस्थितिसँगै त्यतिबेला विकासशील राष्ट्र वा तेस्रो ध्रुव पनि भनिने चीनले आफूलाई अब्बल बनाउँदै र विश्व व्यवस्थाको दाबेदारका रूपमा प्रस्तुत गर्दै लगिरहेको छ । विश्व मानचित्रमा चीन अबको अवश्यंभावी अतिमहाशक्ति बनेर उदाइसकेको छ ।
यही मङ्सिर ३ र ४ गते चीनले सेनजेनमा आयोजना गरेको महाशक्ति राष्ट्रको त्रिपक्षीय शिखर सम्मेलनले पनि स्पष्ट रूपमा यही सन्देश दिएको छ । यो सन्देश शान्ति घोषणापत्रका रूपमा बाहिर आएको छ । चीन, अमेरिका र रूसको त्रिपक्षीय शिखर सम्मेलनपछि घोषणा गरिएको सहमतिको बुँदाको नामाकरण किन ‘शान्ति घोषणापत्र’ भनेर गरियो ? यसको अन्तर्यमा गहिरो यथार्थता रहेको छ ।
आजको विश्वमा महाशक्ति राष्ट्रहरूसँग आणविक अस्त्र रहेकाले त्यसको प्रयोगविना विश्वयुद्धमा कसैको हारजित हुँदैन । तर यो आणविक अस्त्रको प्रयोग प्राणी वा मानव अन्त्यका लागि मात्र निर्माण गरिएको हो । पहिले पहिले त अरू देशलाई तर्साउने र आफ्नो हालीमुहाली कायम गर्ने काममा यसले केही समय साथ पनि दियो । तर कालान्तरमा आएर यो मानव संहारका लागि अन्तिम अस्त्र बनेर उभियो ।
यस्तो प्राणीघातक अस्त्र प्रयोगबाट बच्न र विश्वमहाशक्तिका रूपमा रहिरहन अमेरिकाले इजरायललगायतका शक्ति अघि सारेर हजारौं ‘प्रोक्सि वार’ वा प्रयोजित युद्धहरू गर्दै र गराउँदै आयो पनि । यसको प्रतिरोधमा अन्य उदीयमान देशहरू पनि गर्दै आए । कतिपयले बाध्यात्मक प्रतिरोध युद्ध पनि चलाए ।
यसक्रमसँगै विज्ञान तथा प्रविधिले द्रुतगतिमा छलाङ मार्दै गयो । आणविक अस्त्र अन्य देशले पनि निर्माण गर्दै गए । अहिले आणविक अस्त्रसम्पन्न देशमा दर्जनौ देशहरू अगाडि आइसकेका छन् । यो अवस्थामा आणविक अस्त्र डराउन दिने अस्त्रमात्र रहेन । प्रयोगको अस्त्रमा पुगिसक्यो । यतिसम्म कि यो अवस्था बाध्यात्मक बनेर आइसक्यो ।
विश्व अबका दिनमा डर, त्रास र आतङ्कले मात्र कज्याउन सकिने अवस्था रहेन । ‘अमेरिका विश्वअतिमहाशक्ति राष्ट्र हो किनभने ऊसँग आणविक अस्त्र छ’ भन्ने दिन पनि सकिए । शक्ति आर्जनका हिसाबले रूसको पुनरोदय भइसकेको छ । आर्थिक, सामरिक, विज्ञान तथा प्रविधि, उत्पादन, बजार व्यवस्थापन र सहकार्यका हिसाबले चीनको दाँजोमा विश्वमा आज कुनै पनि देश छैनन् ।
आक्रमण गर, पराजित गर, प्रभुत्व कायम गर र त्यस देशका श्रीसम्पत्ति लुटेर विजयी देशमा भित्र्याऊ भन्ने नीति अबका दिनमा स्वीकार्य छैन । भेनेजुएलामाथि रातारात कमाण्डो आक्रमण गरेर त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई सपरिवार अमेरिकामा लगी लागूऔषध वसारपसारको नक्कली मुद्दा लगाएर थुनेपछि अमेरिकी विश्वव्यवस्थामा सङ्गीन प्रश्न उठिरहेको छ ।
सभ्याता र शक्तिको नाममा ‘लूट र खाऊ’ को जमाना गइसकेका छन् । पुँजीवादको यो पुरानो सोच र शैलीलाई चिनियाँ समाजवादको ‘सबैलाई सम्मान गर, सहकार्य गर र अरूको भाग पनि नखोस’ भन्ने सोच र शैलीले उपयुक्त विकल्प दिइसकेको छ । आजको युरोप, दक्षिण अमेरिका र अफ्रिकासहित एशियाका विकाशील देशहरू यही नीतिप्रति आकर्षित हुँदै र सहकार्यको हात बढाउँदै लम्कन थालिसकेका छन् ।
यी तमाम र विविध परिवेशमा अबको विश्व विकल्प कसरी दिने भनेर चीनले सेनजेन सहरमा ‘बिल्डिङ एसिया प्यासिफिक कम्युनिटी टु प्रोस्पर टुगेदर’ को नाराअन्तर्गत अमेरिका र रूसलाई निमन्त्रणा गरेर विश्वलाई आणविक लडाइँबाट टाढा राख्न पहल गरेको थियो । सर्सर्ति हेर्दा यो आर्थिक शिखर सम्मेलन भए पनि यसको अन्तर्यमा विश्व व्यवस्थाको विहङ्गम बहस र दिशानिर्देशको खोजी थियो ।
हाल विश्वमा हजारौं प्रोक्सी (प्रायोजित) तनाव सिर्जना गरिएका छन् । यी तनावको प्रतिरोधमा उत्तिकै सङ्ख्यामा अन्य तनाव पनि सिर्जना भइरहेका छन् । हाम्रा आँखाले दिनरात देखिरहेका र सुनिरहेका मुख्य ठूला तनावमा युक्रेन युद्ध र इरान युद्ध, इजरायली बर्बरता आदि रहेका छन् । यी युद्ध अमेरिकाले आफू महाशक्तिका रूपमा रहिरहन चलाएको प्रोक्सी वार हो । युक्रेन युद्धमा रूसको सहभागिता र खाडी युद्धमा इरानको प्रतिरोध बाध्यात्मक कदमहरू हुन् ।
यस अतिरिक्त, भारत–पाकितान हानाहान, अरब देशमा हानाहान, दक्षिण अमेरिकामा मारामार, इष्ट चाइना सीमा तनाव, युरोपमा तेलको अभाव, अफ्रिकामा खानाको अभाव, चन्द्रमामा होड, अन्तरीक्षमा होड, पचासौं देशका बीचमा अतिरञ्जनापूर्ण वक्तव्यवाजी, घुर्की, धम्की र बार्गेनिङ यी सारा महाशक्ति राष्ट्र स्वार्थप्रेरित प्रोक्सी चलखेलहरू हुन् ।
वास्तविकता के हो भने अमेरिका अबका दिनमा विश्वव्यवस्था चलाउन असक्षम हुँदै गइरहेको छ । तर अमेरिकाले चीनलाई अतिमहाशक्तिका रूपमा स्वीकार्न पनि तयार देखिदैन । यसले विश्वमा ‘थुसिडाइड ट्रयाप’ सिर्जना गरिरहेको छ । त्यो भनेको अबको विश्व व्यवस्था चलाउन चीनले अमेरिकालाई लडाइँ गरेरै हराउनु पर्ने हो वा अमेरिकाले चीनलाई विश्व व्यवस्था चलाउने मार्ग प्रशस्त गर्छ ?
अहिलेको विश्व सङ्कट यहीनेर आएर अड्किएको छ । चीनको चाहना भनेको अब तेस्रो विश्वयुद्ध लडेर अणुपरमाणु बम पड्काएर मानवजाति स्वहा नगरौं, बरू चीनलाई शान्तिपूर्ण रूपमा वैकल्पिक विश्व व्यवस्था चलाउन देऊ भन्ने हो । अमेरिकाले विश्व व्यवस्था चलाउन नसकिरहेको अवस्थामा अबका दिनमा विश्वको दुर्गति हुन नदिन चीन सदाशयताका साथ अमेरिकासँग यस्तो प्रस्ताव राखिरहेको छ ।
परिणामतः चीन, अमेरिका र रसियको त्रिपक्षीय सेनजेन शिखर वार्तापछि विश्व शान्तिको घोषणापत्र जारी गरिएको छ । यसमा मूलतः प्रोक्सी द्वन्द्व व्यवस्थापन, वैकल्पिक विश्व व्यवस्थाको स्वीकरण, विश्व शान्ति र प्रगतिको दिशानिर्देशको कुरा उठाइएको छ ।
यसमा आणविक जोखिम न्यूनीकरणको कुरा प्राथमिकतामा छ । आणविक युद्धमा ठूलो सानो देश भन्ने हुँदैन । यो युद्ध कसैले जित्न नसक्ने र लड्न पनि नहुने कुरामा जोड दिइएको छ ।
यसका लागि संयुक्त राष्ट्र सङ्घमा सुधार ल्याउनुपर्ने कुरा अघि सारिएको छ । सुधारका लागि संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का स्थायी सदस्यको सङ्ख्या थप हुनसक्छ । किनकि विश्वव्यापी चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय शान्ति कायम राख्न यसको बिस्तार जरूरी पनि छ ।
सङ्कटमय विश्वलाई बचाउनु छ । त्यसैले ऊर्जा सुरक्षा र आपूर्तिलाई साथसाथै लैजानु छ । विश्वका सबै देशको हितका लागि प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने कुरामा यथेष्ट ध्यानदिनु पर्छ ।
एक देशले अर्कोलाई नाकाबन्दी लगाउने, सरकार प्रमुखलाई जबर्जस्त अपदस्त वा किडन्याप गर्ने कुरामा रोक लगाउनुपर्ने कुरामा पनि गम्भीर हुन घोषणामा निर्देश गरिएको छ । कूटनीतिक उन्मुक्तिको कुरा उठाउँदै अन्तर्राष्ट्रिय निकाय र राष्ट्रको सहमतिको सिद्धान्त अनुसार सरकारी अधिकारीले पाउने कूटनीतिक उन्मुक्तिको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । महाशक्ति भनिने देशको दबाबमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका संस्थाले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ । यसले मादुरोको उन्मुक्तिको कुरा, रूसमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धको कुरालाई सङ्केत गरेको छ । इजरायली प्रम बेञ्जामिन नेतन्याहुको कुरा पनि छोएको छ ।
यस अर्थमा अबको विश्व व्यवस्थाको सोच फराकिलो हुन थालेको छ । यो वैठक सकारात्मक, रचनात्मक र उपलब्धिमूलक रहेको छ । तथापि चीन र रूसले वक्तव्य सार्वजनिक गरे पनि अमेरिकाले भने औपचारिक रूपमा उक्त वक्तव्य सार्वजनिक गरेको छैन ।