काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामामाथि उनको कार्यकालमा इरानलाई अर्बौं डलर दिइएको र उसलाई आणविक हतियार हासिल गर्ने दिशामा अघि बढ्ने मौका मिलेको आरोप लगाएका छन् ।
ट्रम्पले ओबामालाई अयोग्य राष्ट्रपति भन्दै उनका नीतिहरूको आलोचना गरे ।
यसअघि शनिबार चुनावी सभालाई सम्बोधन गर्दै बराक ओबामाले ट्रम्प प्रशासनका नीतिहरूको आलोचना गरेका थिए । उनले इरानसँगको युद्धलगायत धेरै मुद्दाहरूमा ट्रम्प प्रशासनविरुद्ध निशाना साँधेका थिए ।
ओबामाले उनको कार्यकालमा इरानसँग भएको आणविक सम्झौता उसलाई आणविक हतियार हासिल गर्नबाट रोक्न प्रभावकारी रहेको दाबी गरेका थिए ।
उनले उक्त सम्झौतामार्फत कुनै मिसाइल प्रहार नगरी इरानको आणविक कार्यक्रममाथि नियन्त्रण कायम गरिएको बताए ।
यसपछि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ’ट्रुथ सोसल’ मा एक पोस्ट लेख्दै भने, “ओबामा अति नै अयोग्य राष्ट्रपति थिए ! उनले इरानलाई अर्बौं डलर दिए र उसलाई आणविक हतियार बनाउने बाटो खोले ।”
ट्रम्पले अगाडि लेखेका छन्, “उनले (ओबामाले) हिलारी क्लिन्टनका लागि धेरै प्रचार गरे, तर उनी सबै तिरबाट हारिन् । त्यसपछि उनले कमलाका लागि पनि पूरै शक्ति लगाएर प्रचार गरे र उनी पनि हारिन् ।”
अमेरिकामा मध्यावधि चुनावका कारण रिपब्लिकन र डेमोक्रेटिक दुवै दलहरू आफ्ना–आफ्ना उम्मेदवारहरूको प्रचारप्रसारमा जुटेका छन् । सोही क्रममा यो आरोप–प्रत्यारोप बाहिर आएको हो ।