काठमाडाैं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध भएका छन्। प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन अन्तर्गत मनोनयन दर्ता हुँदा अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेको थियो। उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
यसअघि उनी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए। प्रतिष्ठानको महाधिवेशन बिहीबारदेखि महोत्तरीको बर्दिबासमा सुरू भएको थियो। नयाँ नेतृत्व चयनका लागि भएको मनोनयनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षका केही पदमा निर्वारोध निर्वाचित भएका छन्।
निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन्।
त्यस्तै, उपाध्यक्ष पदमा देवी घर्ती, पूर्णकला बिसी, श्रीकृष्ण बममल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दिपक गरौजामगर, नवीन पौडेल, पुस्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बममल्लको उम्मेदवारी परेको छ। महासचिवमा भने शिव हमाल निर्विरोध भएका छन्। प्रतिष्ठानको अन्य पदमा भने आज मतदान हुँदैछ।