• आश्विन १७ २०८३, शनिबार

अस्पताल र होस्टल खाली गर्ने उर्दीपछि नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडाैं आइपुगे

आश्विन १६ २०८३, शुक्रबार

काठमाडौं । नेशनल मेडिकल कलेजका आवसीय चिकित्सक पढ्ने वातवरण बनाइदिन माग गर्दै चिकित्सा शिक्षा आयोग पुगेका छन् । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेपछि उनीहरू काठमाडौं आएका हुन् ।

‘५२ जना छौँ । अहिले सानोठिमीमा ४० जना आएका छौँ । सबैजना वीरगञ्जबाट आएका हौँ,’ आवसीय चिकित्सक विवेक भट्टराईले भने, ‘त्यहाँ पढ्ने वातवरण छैन । डर र धम्की दिइएको छ । अनुत्तीर्ण गर्ने, थेसिसमा साइन नगर्ने जस्ता धम्की आएको छ ।’

पढ्ने वातवरण नभएपछि आफूहरू न्याय खोज्न आयोग पुगेको उनले बताए । ‘चिकित्सा शिक्षा आयोगको जाँच दिएर सरकारले पठाएको हो । अर्को ठाउँमा पढ्न पाउनु पर्‍यो,’ उनले भने ।

आयोगमा आएका स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सक हुन् । कलेज यसअघि पीजी आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको थियो ।

रास्वपाका सांसद रहबर अन्सारीले आज नेशनल मेडिकल कलेजमा अध्ययनरत पीजी विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगत १० दिनदेखि पीजी विद्यार्थीहरू आन्दोलनमा रहेको र उनीहरूलाई होस्टेल खाली गर्न, आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे ।

सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाइएका कलेजहरूलाई राज्यले आफ्ना गहनाहरू (विद्यार्थीहरू) को भविष्य अन्योलमा पार्न मिल्दैन ।’