काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
भेलाका लागि अधिकांश सहभागी काठमाडौं आइसकेका छन् । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले भेलाका एजेन्डा अनुमोदन गरेको छ । भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल हुनेछ ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।
भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।