• मंसिर ४ २०८३, बिहीबार

प्रम बालेनको भारत भ्रमणमा सबैका तीखा आँखा

मंसिर ३ २०८३, बुधबार

निकट भविष्यमै प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणमा निस्कदैछन् । यो उनका लागि छिमेकी देशको पहिलो भ्रमण हुनेछ । राजनीतिक दलहरू असफल भएको घोषणासहित निर्माण भएको नयाँ सरकारका प्रमको यो भारत भ्रमण सबैका लागि कुत्कुत्याउने चासोको विषय बनिरहेको छ ।

पहिलो कुरा त, प्रम बालेनको आफ्‌नै फरक सोच र शैली छ । उनले चाहेको कुरा मात्र प्राथमिकतामा पर्छन् । बालेन सरकार बन्नेबित्तिकै नेपालमाथिको भारतीय चासोमा अदलीबदली हुन्छ कि भनी दिल्ली चिन्तित रहँदै आएको छ । दिल्लीको पहिलो प्रयास सोचेझैं हुन नसकेपछि यसले दिल्ली–काठमाडौं बीच केही तनाव पनि बढाएको छ ।

दोस्रो कुरा, जहिले सरकार बदलिन्छ, त्यति बेला दिल्लीलाई केही न केही उसले चाहेको स्वार्थ नेपाल सरकारले पूरा गरिदिनुपर्छ । विभिन्न कालखण्डमा बनेका नयाँ सरकारले दिल्लीलाई उसको स्वार्थअनुसार पहिलो भेटमै केही न केही नजराना चढाउँदै आएको परम्परा छ । यसमा के गर्छन् उनी ?

तेस्रो कुरा, भारतले जबर्जस्त मिचेर उपभोग गरिरहेको लिम्पियाधुरा, लिपुलेक र कालापनानीको नक्सा नेपालको सीमाभित्र राखेर फिर्तीको कुटनीतिक बहस चलिरहँदाका बखत नयाँ सरकारका प्रम बालेन शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ संसदमा बोलेका छन् । मिचिएको यो भूमिको समस्या समाधानका लागि उनले के कस्तो भूमिका निर्वाह गर्छन् ?

चौथो कुरा, बालेनले दिल्लीसँग गर्ने सबै कुरामा नेपालको भूराजनीतिक परिस्थिति कसरी अघि बढ्छ भन्ने कुरा पनि निर्भर रहेको छ । नेपालमा हाल वर्चश्वमा रहेको अमेरिकी प्रभाव, हाल कमजोर बनेको दिल्लीको अटुट चासो, चीनको एकचीन नीति रक्षाको प्रश्न र युरोपीय युनियनको कुनीतिक बाहुपासरूपी चासो बालेनको भारत भ्रमणमा संकेन्द्रित हुनेछन् ।

पाँचौ कुरा, नेपालीको हितरक्षा उनले कसरी गर्नेछन्, सोका बारेमा पनि गम्भीर चासो आमनेपालीको रहेको छ । सत्ताधारी रास्वपाका लागि प्रतिष्ठा र नैतिकता बचाउको कुरा होला, तर आमनेपालीका लागि नेपाल र नेपालीको हितरक्षाको प्रश्न केन्द्रमा छ । असमान सन्धि, सोच र व्यवहारबाट नेपाली प्रताडित रहँदै आएका छन् ।

राजनीतिक दलका नेता वा सरकार प्रमुख विदेशको राजकीय भ्रमणमा जाँदा नेपाली असाध्यै चिन्तित हुन्छन् । कुन नेता वा सरकार प्रमुखले विदेशीलाई नेपालका के के कुरा दिएर, बेचेर वा सुम्पिएर आउने हो भन्ने चिन्ताले सताइरहेको हुन्छ ।
यस्तो चिन्ताले यस पटक नेपाली जनमानसमा घर गर्न नपाओस् । तथापि हुने र गरिने कुरा व्यवहारमा हेर्न बाँकी नै छ ।