• भाद्र २९ २०८३, सोमबार

इरान समर्थित हुथी विद्राेहीद्वारा साउदी अरबका सैन्य अखडामा भिषण मिसाइल हमला

भाद्र २८ २०८३, आईतवार

काठमाडौं । दक्षिण साउदी अरबस्थित सैन्य अखडालाई ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन्। बीबीसी फारसीका अनुसार हुथी सैन्य प्रवक्ता याह्या सरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

याह्या सरीका अनुसार यो आक्रमण दक्षिणी साउदी अरबमा रहेको शरुरुह सैन्य अखडामा गरिएको हो। आक्रमणमा साउदी अरबका हतियार भण्डार र कमान्ड तथा कन्ट्रोल सेन्टरहरूलाई निशाना बनाइएको उनले दाबी गरेका छन्।

यद्यपि, हुथी प्रवक्ताले आक्रमण कुन समयमा भएको हो भन्नेबारे विस्तृत समय खुलाएका छैनन्। साउदी अरबलाई चेतावनी दिँदै उनले भनेका छन्, “यदि यमनविरुद्ध सैन्य कारबाही जारी रह्यो भने हुथीहरूले साउदी भूभागका भित्री भागहरूमा अझ ठूला आक्रमणहरू गर्न सक्छन्।”

यसैबीच, ‘एक्सियोस’ को एक रिपोर्टमा साउदी अरबका क्राउन प्रिन्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुथी विद्रोहीविरुद्ध सैन्य कारबाहीका लागि माग गरेको दाबी गरिएको छ।यद्यपि, ट्रम्पले उक्त मागलाई अस्वीकार गरिदिएको रिपोर्टमा उल्लेख छ।