• भाद्र २५ २०८३, बिहीबार

बौद्ध जागरण संघको १८औं वार्षिक साधारणसभा सम्पन्न

भाद्र २५ २०८३, बिहीबार

ललितपुर । सामाजिक संस्थाको रुपमा काम गर्दै आएको बौद्ध जागरण संघको १८औं वार्षिक साधारणसभा ललितपुरमा भर्खरै सम्पन्न भएको छ । ०६३ सालमा स्थापना भएको यो संस्थाले बौद्ध धर्मको प्रचारको साथै समाजमा शान्तिको स्थापना गर्न बुद्धले दिएको दर्शनको अनुशरण गर्नुपर्ने वकालत गर्दै आएको छ ।

साधारणसभामा सो संस्थाका अध्यक्ष काइँला लामाले बुद्धले दिएको ज्ञानको बारेमा जानकारी दिँदै बौद्ध जागरण संघको स्थापनाकालदेखि आजसम्म भए गरेका काम र प्रगतीको बारेमा जानकारी दिएका थिए ।

उनले सो संस्थाले बुद्ध जयन्ती लगायतका अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको भन्दै बुद्धको पुजा गरेर मात्र शान्ति नहुने र शान्ति प्राप्त गर्नको लागि योग र ध्यान पनि गर्नुपर्ने बताए ।

कार्यक्रमको संचालन भीम घिसिङले गरेका थिए भने संस्थाको आर्थिक वार्षिक प्रतिवेदन कोषाध्यक्ष सोमबहादुर तामाङले प्रस्तुत गरेका थिए ।

कार्यक्रमकी विशेष अतिथि ललितपुर—३ का प्रतिनिधिसभा सदस्य प्रभा कार्कीले मन्तव्य राखेकी थिइन् । मन्तव्यमा उनले आफूलाई धार्मिक आध्यात्मिकता मन पर्ने धारणा राखिन् ।

सो समारोहमा बौद्ध दर्शनका गुरु खेन्पो डा. कर्मा साङ्बोले बुद्ध दर्शनको बारेमा प्रवचन दिएका थिए । सोही अवसरमा बौद्ध जागरण संघ ललितपुरको वेबसाइटको बारेमा पनि जानकारी गराइएको थियो ।

प्रवचनको क्रममा बौद्ध गुरुहरुले हालैको भोटेकोशीको बाढीमा परेर मृत्यु भएका मानिसहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतआत्माको शान्तिको कामना गरे । कार्यक्रममा ११ जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका थिए ।

तस्वीरहरू : गजराज घर्तीमगर ।