युक्रेनले रूसमाथि प्रहार गरिरहेको मध्यम दूरीको ड्रोन हमलाको प्रभाव अहिले पनि कायमै छ । यस प्रभावलाई कम गर्न रूसले पछिल्लो समयमा इन्टरनेट प्रणालीलाई कब्जामा लिन अनेकन प्रयास गरिरहेको छ । यो भनेको अबको युद्ध स्याटेलाइट वारतिर उन्मुख हुँदै गएको सङ्केत हो ।
रूस–युक्रेन युद्ध अनपेक्षित रूपमा लम्बिँदै गरेको छ । एकातिर रूस र अर्कोतिर युक्रेनको पक्षमा सिङ्गो नेटो नेसन्सको अलायन्स भिडिरहेका छन् । यो युद्धमा क्षेत्रीय ब्याटलमा अभिव्यक्त विश्व युद्धझैं प्रतित भइरहेको छ ।
पाँच वर्षदेखि निरन्तर चलिरहेको यो युद्ध अहिले स्याटेलाइट युद्धको स्वरूप ग्रहण गर्दै छ । युक्रेनको राजधानी किभबाट प्रहार गरिएका ड्रोनहरूको निशाना सटिक हुन थालेपछि यसलाई रोक्न रूस स्याटेलाइट इन्टरनेटको प्रभावकारितालाई निस्क्रिय बनाउने खोजमा लागेको हो ।
मध्यम तथा लामो दुरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको प्रभाव रोक्न स्याटेलाइट इन्टरनेट सेवा नै जाम गर्ने शक्तिशाली प्रणालीको विकासमा रूसले प्रगति हासिल गरिसकेको पनि छ । यो प्रगतिपछि रूसले अमेरिकी बिलियनियर एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट प्रणाली नै जाम गरिदिने आँकलन धेरै वैज्ञानिकको छ ।
रूस–युक्रेन युद्धसँगै एलन मस्कले युक्रेनलाई स्टारलिङ्कको इन्टरनेट सुविधा निःशुल्क उपलब्ध गराउँदै आएका छन् । यो इन्टरनेट सेवामार्फत् युक्रेनले मध्यम दूरीका ड्रोन सटिक लक्षमा प्रहार गर्दै आएको छ ।
हाल युक्रेनले स्टारलिङ्क इन्टरनेटको सहयोगमा रूससँगको युद्धलाई लम्ब्याउँदै र रणनीतिक बनाउँदै लगिरहेको छ । युक्रेनी ड्रोनले हाल रूसका रणनीतिक महत्वका भण्डारण केन्द्र, हवाइ अड्डा र सैन्य क्षेत्रमाथि बेलाबेलामा सटिक आक्रमण गरिरहेका छन् ।
यो आक्रमणमा केवल एलन मस्कको स्टारलिङ्कले मात्र सहयोगी काम गरिरहेको छैन । बरू अमरिका आफैले यसका लागि आवश्यक सूचना र निर्देशन दिने गरिरहेको रूसी पक्षको दाबी रहेको छ ।
ड्रोन आक्रमणबाट रूसको रसद सप्लाइ मार्ग, इन्धन भण्डारण केन्द्र, हवाई प्रतिरक्षा प्रणाली र कमाण्ड सेन्टरमा क्षति पुगिरहेको छ । यस्ता आक्रमणबाट रूसको आन्तरिक गतिविधिमा निकै ठूलो असर परिरहेको छ । यसले आन्तरिक परिबहन, यातायात, सूचना सञ्चार, सैन्य आपूर्ति तथा आन्तरिक गतिविधिमा धक्का दिइरहेको छ ।
पछल्लो समयमा युक्रेनी ड्रोन हमला निस्क्रिय र निस्प्रभावी हुँदै जाँदा रूसले स्टार लिङ्कको प्रभावकारीतामाथि कब्जा गर्दै गइरहेको स्वयम् युक्रेनी प्रशासन तथा सैन्य कमाण्डरहरूले पनि स्वीकार गरिरहेका छन् । यति मात्र होइन, रूसले आवश्यक सैन्य सामग्री स्टार लिङ्कले नोटिस नगर्ने खालका साधन र वैकल्पिक मार्ग पनि सफलतापूर्वक प्रयोग गर्दै आइरहेको छ ।
अनौठो कुरा त के छ भने स्टारलिङ्कको सिग्नल अवरुद्ध गर्ने शक्तिशाली इलेक्ट्रोनिक जामिङ प्रणाली पनि रूसले अभूतपूर्व सफलतासहित प्रयोगमा ल्याइरहेको छ । युक्रेनी रक्षा विभागले सङ्केत गरे अनुसार त रूसले ‘भोल्ना कुपोल गारान्ट’ जाम प्रणालीलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याइरहेको छ ।
भोल्ना कुपोल गारान्ट नाम दिइएको यो प्रणाली स्थापना गरिएको स्थानमा यसको २० वर्ग किलोमिटर भन्दा बढिको क्षेत्रमा स्टारलिङ्कको सिग्नल निस्काम र प्रभावहीन बनाउने गरिरहेको छ । उता युक्रेन र अमेरिकाले पनि भोल्ना कुपोल गारान्टलाई निस्क्रिय बनाउने अभियानमा एकपछि अर्को प्रयास जारी राखिरहेका छन् ।
युक्रेनको मध्यम दूरीको ड्रोन अभियान यस वर्षको युद्धकै सबैभन्दा महत्वपूर्ण सैन्य विकास मानिएको अमेरिकी फरेन पोलिसी रिसर्च इन्स्टिच्युटको स्वीकारोक्तिसँगै इन्टरनेट जाम र प्रतिजामका कार्यले अबको युद्धलाई स्याटेलाइट वारमा जबर्जस्त धकेलिदिएको छ ।