• मंसिर ७ २०८३, आईतवार

शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन मिल्दैन : प्रदीप ज्ञवाली

मंसिर ६ २०८३, शनिबार

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन नमिल्ने बताएका छन् ।

शान्ति सम्झौता राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको आधिकारिक दस्ताबेज भएकाले सरकार परिवर्तन हुँदैमा त्यसबाट पन्छिन नमिल्ने उनको भनाइ छ ।

शनिबार काठमाडौँमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्ग्याउन सरकारले तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्नुपर्ने बताएका हुन् ।

राजनीतिक परिवर्तनसँगै यसअघि गठन भएका आयोग विघटन गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले नयाँ आयोग गठनमा ढिलाइ गर्न नहुने बताए ।

पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सिफारिस समितिबाट निश्चित प्रक्रिया पूरा गरेर आयोग गठन हुने भएकाले यसलाई अन्य राजनीतिक नियुक्तिसरह विघटन गर्न आवश्यक नरहेको उनको तर्क छ ।

सङ्क्रमणकालीन न्यायको महत्त्व औँल्याउँदै ज्ञवालीले भने, ‘दिगो शान्तिका लागि शान्ति प्रक्रिया ठुलो पुँजी हो । तर सत्य स्थापित हुन सकेन भने समस्या समाधान हुँदैन । यस प्रक्रियामा हामी कतिपय ठाउँमा चुकेका छौँ । म द्वन्द्वको कुनै पनि पक्षमा नरहेको साक्षी हुँ ।’

सुरुवाती दिनमा अविश्वास, पछि राजनीतिक दाउपेच र एम्नेस्टीका विषयमा गम्भीर मतभेद देखिए पनि पछिल्लो समय गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा उन्मुक्ति दिन नसकिने विषयमा सहमति बनेको उनले उल्लेख गरे ।

आयोग गठनपछि सबैभन्दा पहिले सत्य स्थापित गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । कसुर गरेका व्यक्तिलाई सत्य बोल्न प्रोत्साहित गर्ने उद्देश्यले सजाय न्यूनीकरणको व्यवस्था अघि सारिएको भए पनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा भने उन्मुक्ति दिन नसकिने उनले स्पष्ट पारे ।