गुल्मी । गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो ।
सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।
हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत रेसुङ्गा नगरपालिकामा ५१ जना, गुल्मीदरबार गाउँपालिकामा ६ जना, मुसिकोट नगरपालिकामा १३२ जना तथा कालीगण्डकी गाउँपालिकामा २१ जनाले सेवा प्राप्त गरेको जिल्ला हुलाक कार्यालय गुल्मीका भुवन पाण्डेले बताए ।
रेसुङ्गा नगरपालिकाबाट सुरु भएको अभियान जिल्लाका ४ स्थानीय तहमा पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्ेले बताए । जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा विस्तार गरिएको बताइएको छ ।
विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता कम गर्न सेवा प्रभावकारी बनेको स्थानीयले बताएका छन् ।
हुलाकमार्फत घरमै राहदानी पुगेपछि समय र खर्च दुवै बचत भएको सेवाग्राहीको अनुभव छ ।