काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरी सङ्गठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन्।
पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी विभाजित अवस्थामा पुगेको दाबी गरे।
सरकारले प्रहरी सङ्गठनमाथि अनावश्यक राजनीतिक हस्तक्षेप गरिरहेको उल्लेख गर्दै उनले वर्तमान सरकारको कार्यशैलीबाट प्रहरी, कर्मचारीतन्त्र, उद्यमी र व्यवसायी सबै असन्तुष्ट रहेको बताए।
सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको आरोप लगाउँदै ओलीले आफूलाई सरकार बनेकै दिन पक्राउ गरेर प्रतिशोध साँधिएको जिकिर गरे। आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता-कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको दाबी गर्दै उनले विगतमा एमाले नेतृत्वको सरकारले प्रहरीको सेवा, सुविधा, पोसाक र कार्य वातावरण सुधार्न योगदान दिए पनि अहिलेको प्रहरी व्यवहार अनौठो देखिएको बताए।
सरकार र बिचौलियाको सम्बन्धमाथि प्रश्न उठाउँदै उनले भने, ‘अहिले प्रहरी दुई भागमा बाँडिएको छ, एउटा मार खाने र अर्को हेरेर बस्ने। व्यवसायीहरूलाई सम्पत्ति शुद्धीकरणका नाममा तर्साउने र ईनम सापकोटालगायत बिचौलियालाई अघि सारेर सरकारले तमासा देखाइरहेको छ।’