बालेन सरकारका १०० दिन पूरा हुन अझैं केही दिन बाँकी छन् । तथापि संसद तथा आमजनताका बीचमा केही संशय उत्पन्न थालेका आभाष सतहमा आउन थालिसकेको छ । यद्यपि आआफ्ना पक्षबाट आक्रमण र बचाउका श्रृङ्खलावद्ध अभिव्यक्ति सामाजिक सञ्जालमा बग्रेल्ती देखा परिरहेका छन् ।
साझा प्रतिबद्धता सार्वजनिकीकरण, तदनुरूपको कामकार्य कार्यान्वयनका लागि अध्यादेश जारी र सरकारका नीति तथा कार्यक्रम घोषणासँगै यी सबै कुरा कुन बाटोतिर निर्देशित छन् भनेर धेरैका कान ठाडा हुन थालिसकेका छन् ।
यसरी कान ठाडा हुन जानुमा आशङ्का र अविश्वासले मात्र काम गरिरहेका छैनन् । बरू ढुक्क भएर विश्वासका साथ ‘हामी यो रोडम्यापमा जाँदैछौं’ भनेर समर्थक र शुभचिन्तकहरूलाई बोल्ने बाटो दिन पनि रोडम्यापको खाका जरूरी हुन गएको छ ।
प्रजातन्त्र प्राप्तिपछि नेपालमा बनेका सरकारका इतिहास वा विरासत नियाल्यौं भने तिनीहरूले या त प्रजातान्त्रिक समाजवाद या त कम्युष्टि समाजवादका रोडम्याप देखाउने गरेका छन् । भलै, पुराना पार्टीहरूले ती रोडम्याप पूरा गर्ने त कुरै छाडौं, पछ्याउनसम्म पनि सकेका नहोउन् ।
अहिले बालेन सरकार विचारविहीनताको जगमा उभिएको आरोप कायमै छ । अर्कोतिर, संविधान संशोधनका कुरा पनि यो सरकारले उच्च प्राथमिकतामा राखेको छ । कुन दिशातिर अघि बढ्न वर्तमान संविधान संशोधन गर्ने ? त्यो पनि स्पष्ट पार्न बाँकी छ ।
संसदमा प्रधानमन्त्रीको अनुपस्थिति र सांसदका प्रश्नको जवाफ दिन तयार नरहेको आरोपले भ्रम सिर्जना गरिरहेको अवस्थामा सरकारले आफ्नो स्पष्ट रोडम्याप सार्वजनिक गरेर अघि बढ्न सक्नु पर्छ ।
त्यसैले स्पष्ट रोडम्याप सार्वजनिक गर बोलन सरकार !