• जेष्ठ २ २०८३, शनिबार

बालेन्द्र शाहको नाम लिइ कर्मचारीलाई धम्क्याउने खड्का पक्राउ

जेष्ठ २ २०८३, शनिबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोकका २२ वर्षीय प्रकाश खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनी काठमाडौंको शंखमुलमा बस्दै आएका थिए । शनिबार (जेठ २) उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग’ गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई खड्काले फोन गरी धम्क्याएको अडियो रेकर्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।