काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका करेन्ट र लाली चाउचाउको नमुना परीक्षणका क्रममा स्वच्छ नदेखिएको भन्दै फिर्ता गर्न निर्देशन दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार दिएको आदेशमा भनिएको छ, “उत्पादकबाट उत्पादित उक्त खाद्य पदार्थमा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप नपाइएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नं. का सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा (४) बमोमिज बिक्री वितरण नगर्न–नगराउनुहुन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादकलाई यो आदेश जारी गरिएको छ ।”
करेन्ट चाउचाउको ब्याच नम्बर ०४एमा उत्पादित सय ग्रामको प्याकेटमा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याट एसिड भ्यालु नपाइएको हुँदा फिर्ताको आदेश भएको हो ।
त्यस्तै यसोधा फुड्सकै ०२ए ब्याचमा उत्पादित लाली चाउचाउको ५० ग्रामको प्याकेटमा पनि सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको उल्लेख गर्दै बजारमा रहेका सबै चाउचाउ फिर्ता गर्न निर्देशन दिइएको छ ।