• फाल्गुन २३ २०८२, शनिबार

प्रजातन्त्र र राजनीतिक अस्थिरता: चुनौती की अवसर ?

फाल्गुन ७ २०८२, बिहीबार

हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ ।  प्रजातन्त्र जनताको शासन प्रणाली हो, जहाँ जनताले आफ्नो प्रतिनिधि छानेर शासन सञ्चालन गराउँछन्। १०४ वर्षे निरंकुश राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा मनाइने प्रजातन्त्र दिवस यो दिन केवल औपचारिक समारोहको विषय होइन, बरु जनताको अधिकार, संघर्ष र आकांक्षाको प्रतीक हो।

नेपालको लोकतान्त्रिक यात्रामा २००७ सालको परिवर्तन ऐतिहासिक मोड थियो। त्यस समयको आन्दोलनले जनतालाई अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक सहभागिता र मताधिकारको आधार दियो। नेपाल मा २००७ सालदेखि सुरु भएको प्रजातान्त्रिक आन्दोलनले विभिन्न उतार–चढाव सहिदहरूको बलिदान, नागरिकको त्याग र जनआन्दोलनको लहरले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूप लिएको छ। तर इतिहासले सिकाएको पाठ के हो भने—प्रजातन्त्र प्राप्त गर्नु जति कठिन छ, त्यसलाई जोगाइराख्नु झन् ठूलो जिम्मेवारी बनेको छ ।

नेपालको राजनीतिक परिदृश्य पछिल्ला वर्षहरूमा निरन्तर परिवर्तन, सरकार गठन–विघटन, गठबन्धन फेरबदल र नीति अस्थिरताका कारण जनताको अपेक्षा र राजनीतिक व्यवहारबीच दूरी बढ्दै गएको छ । नेपालमा संविधान, निर्वाचन र बहुदलीय प्रतिस्पर्धा जस्ता संरचनात्मक आधारहरू स्थापित भए पनि राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र सुशासनको अभाव जस्ता चुनौतीहरू यथावत् छन्। संसद र सरकार परिवर्तन भइरहँदा जनतामा निराशा बढेको देखिन्छ। जब सरकारहरू बारम्बार परिवर्तन हुन्छन्, दलहरूबीच अविश्वास बढ्छ र नीतिहरू स्थिर रहँदैनन्, तब राजनीतिक अस्थिरता उत्पन्न हुन्छ। यो प्रजातन्त्रका लागि गम्भीर चुनौती हो। राजनीति राष्ट्र सञ्चालनको मूल आधार हो। जब यही आधार डगमगाउँछ, त्यसको प्रभाव सीधै शासन, अर्थतन्त्र र जनजीवनमा पर्छ। राजनीतिक अस्थिरताको पहिलो असर नीति निरन्तरतामा देखिन्छ। सरकार फेरिँदा प्राथमिकता बदलिन्छ, योजनाहरू अधुरै रहन्छन् र दीर्घकालीन विकासमा अवरोध उत्पन्न हुन्छ।

लोकतन्त्रको विशेषता नै परिवर्तन र पुनर्संरचना हो। जब जनतामा असन्तुष्टि बढ्छ, त्यसले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाउँछ। पछिल्लो समय जेने–जी आन्दोलनले प्रजातन्त्रलाई थप बलियो बनाउन परम्परागत राजनीतिक शैलीलाई चुनौती दिँदै नयाँ सोच र ऊर्जा थपेको छ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनलाई  २०८२ सालको जेन्जी आन्दोलनले प्रजातन्त्रलाई थप सशक्त र उत्तरदायी बनाउन दबाब सिर्जना गरेको छ। युवा मतदाताले अब भाषण होइन, कार्यसम्पादन हेर्न थालेका छन्। प्रजातन्त्र तब मात्र बलियो हुन्छ जब जनताको आवाज सुन्ने र सम्बोधन गर्ने संस्कार विकसित हुन्छ।  जेन्जी आन्दोलनबाट सृजित राजनीतिक अस्थिरताले पुराना सोच र कार्यशैली परिवर्तन गर्ने दबाबले चुनौती सिर्जना गरेको छ ।

आगामी निर्वाचन जनताको अपेक्षा पूरा गर्ने दिशामा एक निर्णायक मोड बन्न सक्छ । निर्वाचनमार्फत जनताले असक्षम नेतृत्वलाई बदल्न सक्छन्। यस अर्थमा अस्थिरता नयाँ, सक्षम र उत्तरदायी नेतृत्व उदाउने अवसर पनि बन्न सक्छ। राजनीतिक अस्थिरताका कारण हामी आज फेरि निर्वाचनका लागि होमिएका छौं।  सबै पुराना तथा नयाँ राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।  प्रतिज्ञा पत्र,वाचा पत्र र घोषणा पत्र भन्दै दलहरु आ-आफ्ना एजेन्डा लिएर जनता समक्ष आएका छन् । नयाँ नयाँ राजनीतिक दलहरु नयाँ नयाँ देश बनाउने आधार लिएर  आएका छन् । निर्वाचनलाई लोकतन्त्रको स्वास्थ्य परीक्षणका रूपमा हेरिन्छ। यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, यो जनताको विश्वास, असन्तुष्टि र अपेक्षाको अभिव्यक्ति हो। प्रजातन्त्रको सफलताको आधार नागरिक सचेतना, उत्तरदायी नेतृत्व र बलियो संस्थागत संरचना हो। यदि निर्वाचनले सक्षम, इमानदार र दूरदर्शी नेतृत्व चयन गर्न सक्यो भने लोकतन्त्र अझ सुदृढ बन्नेछ।

निर्वाचनमार्फत जनताले असक्षम नेतृत्वलाई बदल्ने अधिकार राख्छन्। यही प्रक्रियाले लोकतन्त्रलाई सजीव बनाउँछ। यदि राजनीतिक अस्थिरताले पारदर्शिता, उत्तरदायित्व र नीतिगत सुधारतर्फ बाटो खोल्छ भने यो अवसरमा रूपान्तरित हुन सक्छ। प्रजातन्त्रको सुन्दरता नै परिवर्तन र सुधारको सम्भावनामा निहित छ। त्यसैले अस्थिरतालाई आत्मसमीक्षा र सुदृढीकरणको अवसरका रूपमा लिन सकियो भने प्रजातन्त्र अझ मजबुत बन्नेछ। यही चुनौतीलाई अवसरमा बदल्नु जनताको जिम्मेवारी हो। प्रजातन्त्र दिवस मनाइरहदा अबको निर्वाचनमा युवाको सक्रियता र जनताको सचेत सहभागिता नै सशक्त भविष्यको आधार बन्न सक्छ।