विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिन्छ । नेपालमा पनि युवापुस्तामा प्रेम दिवस मनाउन थालेको १२/१५ वर्ष भइसकेको छ । युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेको प्रेम दिवस कहिले आउँछ भनेर पर्खने समेत गरेको पाइन्छन् । यो दिवसले पछिल्लो समय भावनामा सीमित छैन । यसले शहर–बजारको अर्थतन्त्र र जीवनशैलीलाई नै नयाँ रंग दिएको छ। शहर बजारका घुम्ने ठाउँदेखि क्याफे तथा रेस्टुरेन्टमा समेत प्रेम दिवसको प्रभाव पर्न थालेको छ । राजधानीदेखि जिल्लाका मुख्य बजारसम्म गुलाब, चकलेट, टेडी बियर, उपहार सामग्री र रेस्टुरेन्ट–क्याफेहरू प्रेमको प्रतीक रातो रंगमा सजिएका देखिन्छन्। शहर बजारमा नयाँ संस्कृतिकै रूप लिएको छ ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । ‘विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । यो पर्व आउने ७ दिन अघिदेखि नै अन्य के के दिवस भनेर प्रेम साटासाट गर्ने चलन बढेको छ । फेब्रुअरी ७ लागेदेखि नै बजारमा रातो गुलाब,बेलुन तथा गुडियाहरुको बिक्री सुरु हुने गरेको छ । यसले व्यापारकै रुप समेत लिएको छ । प्रेम दिवसलाई लक्षित गरेर क्याफे तथा खाजाघर तथा ठुला ठुला शोरुमहरुले विशेष सजावट गर्ने गरेका हुन्छन् । व्यापारीहरु प्रेम दिवसले गर्दा व्यापार बढेको पनि बताउने गर्दछन् । व्यवसायीहरूका अनुसार यो एक दिनले मात्र नभई पूरा साताभरि (Rose Day, Propose Day आदि) व्यापारलाई चलायमान बनाइरहेको छ। साना उद्यमी, अनलाइन डेलिभरी सेवा र फोटोग्राफी व्यवसायले समेत राम्रो आम्दानी गर्ने अवसर पाएका छन्।
पहिले विदेशी संस्कृतिको प्रभाव मानिने यो दिन अहिले नेपाली युवापुस्ताले आफ्नै शैलीमा अपनाएका छन्। सामाजिक सञ्जालमा शुभकामना, सरप्राइज कार्यक्रम, र सार्वजनिक ठाउँमा प्रेम प्रदर्शन सामान्य बन्दै गएको छ। कतिपयले यसलाई “पश्चिमी प्रभाव” भनी आलोचना गरे पनि धेरैले यसलाई प्रेम व्यक्त गर्ने अवसर र व्यापार प्रवर्द्धनको माध्यम का रूपमा स्वीकार गरेका छन्।
भ्यालेन्टाइन डे अब केवल प्रेम दिवस मात्र नभई शहर–बजारको आर्थिक उत्सव जस्तै बन्दै गएको छ। समयसँगै संस्कृति परिवर्तनशील हुन्छ । प्रश्न यो हो—हामी यसलाई कसरी सन्तुलित, सुसंस्कृत र सकारात्मक रूपमा आत्मसात गर्छौं? यसबारे सोच्न जरुरी छ ।