• फाल्गुन २३ २०८२, शनिबार

फागुन २१ पूर्वको नेपाली राजनीतिक परिदृश्य

पुष २१ २०८२, सोमबार

वर्तमान नेपाली राजनीतिक सङ्कटको उत्तम निकास भनेको सुशीला सरकारले गर्दै गरेको निर्वाचन मात्र हो । संसद पुनर्स्थापनाको मुद्दा सत्ताच्युत एमाले र काङ्ग्रेसका लागि रक्षास्त्र त हुन सक्ला । तर, त्यो सिङ्गो देशको राजनीतिक निकासको मूल गेट भने कदापि हुन सक्दैन ।

एकैछिन आँखा चिम्म गरेर गम्भीरताका साथ सोचौं । सत्ताच्युत हुनुपूर्व काङ्ग्रेस एमालेको दुईतिहाईको सरकार थियो । उनीहरूकै रजाइँ र दमदमी थियो । सरकार थियो, दुईतिहाईको । सिङ्गो संसद थियो । सेना, प्रहरी, जासुसी संयन्त्र, काङ्ग्रेस एमालेका युवा जत्था, के नै थिएनन् र ? अरू दलहरू पनि त थिए ।

तर भदौ २३ र २४ को जेन्जी विद्रोहले त्यसको त कुनै मान्यता र नामो निशाना राखेन । यसमा खेल जेजसको होओस्, पर्दापछाडि हात जसको होओस् । तर देश हिजोकै अवस्थामा त रहन र टिक्न नसकेको यथार्थता लुकाएर लुक्न सक्दैन ।

आज केपी शर्मा ओलीजी एमालेका अध्यक्ष निर्वाचित भएका होलान्, तर हिजो पनि त ओलीजी एमालेकै अध्यक्ष थिए, त्यसमाथि थप देशका दुईतिहाई मतका प्रधानमन्त्री पनि ! आखिर के पो लाग्यो र !

तर देशमा नसोचेको घटना घटी छाड्यो । घटनाका बारेमा सामान्य सूचनासम्म पनि उनीसँग नरहेको देखियो । यो कसको निरीहता र असफलता हो ? कम्तीमा देश थप बर्बादी हुनबाट बचेको छ । अन्तरिम सरकार गठन भई निर्वाचनको प्रक्रिया अघि बढाइरहेको छ ।

नेपालको भूराजनीतिक शक्ति सन्तुलनका कारण हामी नेपाली कम्तिमा आजको यो सापेक्ष शान्तिपूर्ण अवस्थामा छौं । जेन्जी विद्रोह अब लगभग ‘हिजो’ हुँदैछ । ‘आज’ भनेको चुनाव हो । जेन्जी विद्रोहका मर्म र भावना जीवितै छन् । तिनले अवश्यै पनि निर्वाचन र त्यसपछिको बन्ने सरकारको मार्गनिर्देशनमा प्रेरणात्मक भूमिका खेल्ने पनि छन् ।

समय बदलिँदो छ । यस्तो राजनीतिक मौसममा राजनीतिक दल चुनावमा केन्द्रित हुन थाल्नु सकारात्मक र अग्रगामी कुरा हो । राजनीतिक दलले आशय बुझ्नुपर्छ, राजनीतिमा २ र २ जोड्दा ४ हुँदैन । यसका जोड, कोण र हिसाब किताब गर्दागर्दै धेरै कुरा तलमाथि हुन गइसक्छ । अहिलेको राजनीतिक तरलताको त झन् कुरा गरीसाध्य छैन ।

राजनीतिक नेता र नेतृत्व भनेको यो तरलतालाई सापेक्ष आकार दिँदै र सम्हाल्दै अघि बढ्नसक्ने क्षमता हो । ‘बालहठ’मा अड्डी लिएर पौंठेजोरी खेल्न खोज्ने र थप गम्भीर दुश्चक्रमा फस्ने र फसाउने अक्षमता होइन ।

त्यसैले अबको खेल वा लडाइँ चुनावी मोर्चामा सरिसकेको छ । नयाँ पार्टी बन्ने र बनाइने, पुराना पार्टीभित्र र बाहिर खेल्ने र खेलाइने चाल शनैःशनैः चलिरहेको छ । नेपाली काङ्ग्रेसका युवानेता विशेष महाधिवेशनमा होमिइसकेका छन् । वर्तमान सभापति शेरबहादुर देउवाले यसलाई मान्यता नदिई सुखै छैन ।

काङ्ग्रेसी विशेष महाधिवेशनलाई कि त सभापति देउवाले मान्यता नदिएर पार्टी फुटाउनु पर्यो । कि त मान्यता दिएर आफू पनि सहभागी हुनु पर्यो । किनकि नेपाली काँग्रेसको नेतृत्वको ५४ प्रतिशतको हस्ताक्षरमा पार्टीका महामन्त्रीद्वयले यो विशेष महाधिवेशन विधानतः आह्‌वान गरिसकेका छन् ।

अर्कोतिर, एमालेले पार्टी महाधिवेशन गरिसके पनि पुरानै नेतृत्वको अनुमोदनसहित चुनावमा जाँदा ठूलो मूल्य चुकाउनु पर्ने देखिन्छ । यसको प्रत्यक्ष बोध एमाले नेतृत्वले भर्खरै सम्पन्न पार्टी महाधिवेशनमा गरिसकेको छ । यो पार्टी महाधिवेशनमा एमाले पार्टीका कूल प्रतिनिधिमध्ये ४७ प्रतिशतले मात्र भाग लिएको तथ्याङ्कले देखाएको छ ।

विधानतः पार्टी महाधिवेशन प्रतिनिधिको ५० प्रतिशतभन्दा कम उपस्थिति रहेको सम्मेलन वा महाधिवेशन आफैमा ‘वैध’ र अनुमोदित मानिदैन । यसको अर्थ आसन्न निर्वाचनमा एमालेले ‘ठूलो धक्का’ खाने सहजै अनुमान गर्न सकिन्छ ।

साथै, हर्क साम्पाङको श्रम संस्कृति पार्टी र यसको लोकप्रियताले एमालेको वर्चश्व रहँदै आएको पूर्वी नेपालमा तहल्का मच्चाएको देखिन्छ । निर्वाचनका बखतसम्म यही माहौल श्रमसंस्कृति पार्टीमा कायमै रहे, निर्वाचन परिणाममा एमालेका लागि फलामको च्युरा साबित हुने देखिन्छ ।

काठमाडौं उपत्यका र मुख्य सहरी इलाका तथा बाक्लो जनसङ्ख्या भएको तराइमा नयाँ दल अथवा तिनको गठबन्धन हाबी हुने अनुमान गलत हुने देखिंदैन । यी क्षेत्रमा पुराना दल तथा तिनको गठबन्धन बने पनि कमजोर सावित हुने राजनीतिक मौसम यद्यपि कायमै छ ।

हालै मात्र निर्मित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अहिलेसम्म एक्लिएको अवस्थामा देखिन्छ । पुराना सहकर्मी र नयाँ पार्टीसँग यसको हिमचिम र सहकार्य होलाजस्तो अझैसम्म देखिएको छैन । यतिबेला नेकपा देशीय हिसाबले पनि र बाह्य शक्तिका हिसाबले पनि ‘आइसोलेसन’ को तारबार बाहिर परेको देखिन्छ ।

यति बेला नेकपासँग चुनावी सहकार्य गर्न सक्ने भनेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नै हो । यसले चुनावमा भाग लिने घोषणा र तयारी गरिरहेको पनि छ । तर नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका महासचिव विप्लवका बीचमा सम्भावित सहकार्य हुने अनुमान गरेपछि वर्तमान सरकार विप्लवलाई ‘बहिस्कार’ गर्ने बाटोतिर धकेल्न सकिन्छ कि भनी ‘चाल’ चल्न थालिसकेको छ ।

‘हतियार भेटिए’ भन्दै हल्लाखल्ला गर्ने र हालको नेकपा (माओवादी)लाई उत्तेजित पारेर पूर्वमाओवादी पृष्ठभूमि भएकालाई सहकार्य गर्न नदिन माओवादीको कपिलवस्तु शिवपुरस्थित केन्द्रीय कार्यालयको वरपर रहेका आलुबारी खोसरेर विध्वंश गर्न पुलिस परिचालन गरिसकेको छ ।

यिनै मुख्य पार्टी र शक्तिका वरिपरि जेजस्ता गतिविधि भइरहेका छन्, तिनले लडाइँ अब चुनावी मोर्चामा सरिसकेको स्पष्ट देखाउँछ । संयमित भएर, निकै सोचविचार गरेर जिम्मेवार पार्टीहरू चुनावी मोर्चामा हेलिनुपर्छ ।

भूराजनीतिक शक्ति केन्द्रको चपेटामा पर्दा र विदेशी शक्ति केन्द्रको स्वार्थमा अलिकति पनि धक्का पुग्दा र नेपाली शासक सन्तुलित हुन बिर्संदा देश र जनताले के कस्ता अकल्पनीय सास्ती भोग्नु परिरहेको छ ? यो हाम्रा माझमा जगजाहेर छ ।