सन् १९८३ ताका टाइम म्यागेजिनले विश्वका धनी बिल गेट्सकी प्रेमिकाका रूपमा जिल बेनेटलाई उल्लेख गर्दा प्रविधि उद्योगमा राम्रै हलचल मच्चियो । २७ वर्षीया जिल डिजिटल इक्विप्मेन्ट कर्पोरेसनकी बिक्री प्रबन्धक थिइन् । त्यो बेला बिलले केटी घुमाउनु आश्चर्यकै कुरा थियो किनभने यसअघि उनी केटीप्रति विरलै रूची राख्थे । कहिलेकाहीँ समकालीन युवतीहरूसँग हल्काफुल्का दोस्ती गाँसेका बिलले जिलसँग निकै गम्भीर किसिमको सम्बन्ध गाँस्न थालेको त्यो बेलाका सहपाठीहरूले बताउने गरेका छन् ।
जिल र बिलको भेट एउटा पार्टीमा भएको थियो । जिलकी एउटी साथीले पार्टी दिएकी थिइन् र ती साथी माइक्रोसफ्टमा काम गर्थिन् । त्यहाँ यी दुईबीच दोस्ती जम्यो कारण के थियो भने जिलले सोधिन्, ‘तिमी किन ३२ बिट सफ्टवेयर बनाउन सुरू गर्दैनौ ? भविष्य त आखिर ३२ बिटकै हो’ त्यतिञ्जेल माइक्रोसफ्टले १६ बिटे सफ्टवेयर बनाइरहेको थियो । त्यसैले बिलले जिललाई जहिले पनि ‘३२ बिटे केटी’ भनेर जिस्क्याउँथे ।जिललाई बिल खुब मन पर्यो । पछि उनले बिलका बारेमा भनेकी छिन्, ‘बिल साह्रै प्रतिभाशाली लाग्यो । उसमा अल्बर्ट आइन्स्टाइन, उडी एलेन (कलाकार) र कर गायक जोन कोगर मेलेनक्याम्पको बानी गाँसिएको थियो । मेलेनक्याम्प त विद्रोही स्वाभावको हुँदाहुँदै सम्वेदनशील र गज्जबको सेक्स अपिल भएको व्यक्ति थियो ।’
काम भनेपछि मरिहत्ते गर्ने बिलसँग डेटिङ जाने र रमाइलो गर्ने फुर्सद बिरलै जम्थ्यो । कामले थाकेर चूर भएपछि बिल जिलको कोठामा पुग्थे । यो देखेपछि जिललाई दिक्क लाग्नु स्वाभाविक थियो । जिल त घुमघाम रुचाउँथिन् जुन बिलबाट सम्भव थिएन । दुवै प्रविधि कम्पनीमा काम गर्ने भए पनि दुवैका रूचिमा धेरै फरक थियो । बिल अन्तरमुखी थिए जिल चाहिँ बहिर्मुखी । बिलले कहिल्यै पनि आफ्ना भावनाहरू जिललाई बाँड्ने काम गरेनन् । एउटी युवतीका हिसाबले उनी बिलबाट सेक्स मात्र होइन भरपूर भावनात्मक सम्बन्धको अपेक्षा गर्थिन् तर बिल त्यस्ता कुरामा उति चासो दिँदैनथे ।
जिलले जहिले पनि बिललाई रून्चे अनुहार बनाउँदै आएको देख्नेबित्तिकै सोध्थिन्, ‘आज कसले कम्पनी छाड्यो ?’
रुँलारुँलाझै गरेर केहीबेर बिल चिच्याउँथे र आफै थाक्थे । जिलले उनलाई सान्त्वना दिन्थिन् । त्यसो त बिलको परिवारले पनि उनी एक्लो महसुस नगरून् भनेर बेलाबेलामा फोन गर्ने, सान्त्वना दिने र फकाउने काम गरिरहेको जिलले देखेकी थिइन् । यो सम्बन्ध डेढ वर्षभन्दा बढी टिकेन । सन् १९८४ को अन्त्यसम्म आइपुग्दा सम्बन्ध चिसियो । नचिसियोस् पनि किन, बिल उनकोमा सुत्नका लागि मात्र आउँथे । त्यो पनि अबेर राति ! एक दिन त बिलले यस्तो कुरा गरे, जसको अपेक्षा जिलले गरेकी थिइनन् । उनलाई साह्रै चित्त दुख्यो । बिलले भनेछन्, ‘तिमी र स्टिभ बाल्मरको बिहे भइदिए, क्या मज्जा हुन्थ्यो हामी तीनै जना सधै सँगै हुन्थ्यौँ ।’
जिललाई थाहा थियो, बिलसँग यति गहिरो सम्बन्ध गाँसेको व्यक्तिलाई स्टिभ बाल्मरले बिहे गर्दैनन् । पछि यी दुईबीच सम्बन्ध टुट्यो । जिलले पछि भनेकी छिन्, ‘बिलले कहिल्यै पनि मलाई भावनात्मक साथ चाहिँदा कुनै बहाना गरेनन् । जहिले पनि मलाई दुःख आइपर्यो, उनी आइपुग्थे, सान्त्वना दिन्थे ।’
केहीको धारणामा चाहिँ जिलले बिललाई आफ्नो कोठाबाट धपाएपछि अर्की करोडपति महिला एन विनबाल्डसँग नजिकिए । एन विवाहित महिला थिइन् । उनी भेन्चर क्यापिटलिस्ट (सम्भावना भएका साना कम्पनीलाई लगानी गर्ने संस्था) थिइन् र बिलभन्दा ६ वर्ष जेठी थिइन । ५०० डलरमा सुरू गरेको सफ्टवेयर कम्पनीलाई डेढ करोड डलरमा बिक्री गर्ने क्षमता भएकी एनसँग बिलले निकै लामो रोमान्स चलाए । एक समय त यी दुवै विहे गर्ने निर्णयमा पुगिसकेका थिए । खासगरी एनको इच्छा बिलसँग बिहे गर्ने थियो । बिलले अर्काकी श्रीमती भइसकेकीलाई भित्र्याउने रूचि देखाएनन् । तीन वर्षे रोमान्सपछि यी दुवै छुट्टिए ।
विवाहिताप्रति बिलको आकर्षणको नमूना त कम्पनी स्थापना हुनुअघि नै देखिएको थियो । उनले न्यू मेक्सिकोमा रहँदा एड रोबर्ट्सकी श्रीमतीलाई पनि मज्जैले घुमाएका थिए । पछि एडले बिलसँग जुक्ति खेल्नु पर्यो । बिलले भने, ‘तिमी आफ्नी श्रीमतीलाई सम्झाउनुको साटो मलाई किन तनाव दिन्छौ हँ ?’ यति भनेपछि एडको मुख टालियो । पछि बिल आफै उनको श्रीमतीसँग टाढिए । केही विश्लेषकहरू बिलको आफूभन्दा बढी उमेरकी महिलासँगको आकर्षणलाई उनको मातृप्रेमसँग गाँसेर हेर्छन् ।
मेरीका लागि छोरो ज्यादै प्रिय थियो । उनले छोराछोरी दुवैलाई उत्तिकै स्नेहका साथ हुर्काएकी थिइन् । बिल लाडप्यारले हुर्किएको हुनाले उनले आमालाई ज्यादै माया गर्थे । आफूसँग नजिकिएका महिलामा आफ्नी आमाको जस्तो स्नेह खोज्थे तर पाउँदैन थिए । बिलले प्रायः आफ्नो ठूलो कमाइ कुनै नचाहिँदो कुरामा खर्च गरेनन् । उनले आफ्नो कमाइले किनेको नौ लाख डलरको वासिङ्टन ताल नजिकको घर चाहिँ सबैको चर्चाको केन्द्रमा थियो, किनभने यो घरमा उनले टीभी राखेका थिएनन् ।
एउटा मात्र फर्निचर थियो । उनको कोठामा एउटा कम्प्युटर थियो र कम्प्युटर कोठाको सिलिङमा पूरै विश्वको मानचित्र टाँसिएको थियो । कम्प्युटरको कामबाट थाकेर जब उनी माथि सिलिङमा हेर्थे, उनलाई पुरै विश्वको याद आउँथ्यो । उनलाई मनपर्ने ठाउँ, अफ्रिका महादेश थियो । उनी त्यो बेला सोच्थे, म धेरै कमाएपछि दुःख पाउने अफ्रिकीहरूको दुःखहरणमा पैसा लगाउँछु ।
बिलको घरदेखि माइक्रोसफ्ट कम्पनीको अफिस १० मिनेटको गाडीको दुरीमा थियो । तर पनि उनी घर आउन भ्याउँदैन थिए । घरमा आएका बेला उनले घरेलु कम्प्युटरमा जोडेको इमेल सिस्टममार्फत् अन्य कर्मचारी र आमासँग बात मारिरहेका हुन्थे । रोचक त के हुन्थ्यो भने उनी नुहाउन पनि अल्छी गर्थे । नकोरिएको कपाल, अगतिलो लवाई देखेर उनका कर्मचारीहरू छक्क पर्थे । जाबो पाँच मिनेटमै नुहाइसकिन्छ, किन अल्छी गरेका होलान् बिलले भनेर केहीले कुरा पनि काट्थे । कम्पनीबाहेक बिललाई अरू केही मतलब नभएकाले अरूले कुरा काट्नुसँग केही मतलब पनि थिएन । उनका केटी साथीहरूले बरू करबल र जोडले नुहाउन पठाउँथे । केटाहरूले उनलाई नुहाउन जोड गर्न सकेनन् ।
अमेरिकी सरकारको नीतिअनुसार त्यो कम्पनीले मात्र ठूलो सरकारी ठेक्का पाउँछ, जसले महिला कामदारहरूलाई उत्तिकै ठाउँ दिएको हुन्छ । त्यस नीतिअनुसार माइक्रोसफ्टमा पर्याप्त महिला थिएनन् । त्यसैले अमेरिकी सेनाले माइक्रोसफ्टका सफ्टवेयर प्रयोग गर्दैनथ्यो ।
महिलाहरूलाई पर्याप्त काम दिएको देखाउन पनि महिलाहरूलाई काम दिनुपर्ने आवश्यकताबोध भएअनुसार त्यो बेला केही उच्च पदस्थ महिला कर्मचारीहरू भर्ना गरिएको थियो । तिनीहरू पनि दुई वर्षभन्दा बढी टिकेनन् । तीमध्ये एक थिइन्, एप्पलमा काम गरिसकेकी इडा कोल र अर्की जिन रिचर्डस । भलै निजी जीवनमा महिलाहरूसँगको सम्बन्ध टिकाउ नभए पनि सन् १९८४ को मध्येसम्म कम्पनीहरुसँगको सम्बन्ध टिकाउ बनाउन उनी दत्तचित्त भएर लागि परे । ‘विल गेट्स’ पुस्तकबाट । प्रस्तुती : मिलन आफन्त