काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी प्रधानमन्त्री कार्कीले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।
हाल कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय रहेको छ । गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले त्यसपछि भदौ ३०, असोज ६ र कार्तिक ९ गते मन्त्रिपरिषदको विस्तार गरेकी थिइन् ।