• फाल्गुन २४ २०८२, आईतवार

एमाले नेता तथा पूर्वमन्त्री राना सक्रिय राजनीतिबाट बिदा

मंसिर २६ २०८२, शुक्रबार

पाल्पा । नेकपा एमाले पोलिटब्युरो सदस्य दल बहादुर रानाले सक्रिय राजनीतिकबाट बिदा लिएको घोषणा गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रानाले एमालेको राजनीतिक जीवनबाट बिदा लिएको घोषणा गरेका हुन् ।

दुईपटक प्रतिनिधीसभा सदस्य र एकपटक संबिधानसभा सदस्य गरी तिनै पटक प्रत्यक्ष निर्बाचनबाट निर्बाचित भएका रानाले भूमिसुधार तथा ब्यबस्थामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

रानाले मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अबस्था नभएकोले मङ्सिर २७-२९ सम्म काठमाडौँमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिबेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट बिश्राम लिने निर्णय गरेको बताएका छन् ।

राना २०३५-२०३६ सालदेखि कम्युनिष्ट पार्टीको शुभचिन्तक, समर्थक हुँदै तत्कालिन नेकपा मालेको सम्पर्कमा आएपछि युथ कम्युनिष्ट लिगमा संगठित भएर औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा आबद्ध भएका थिए ।

उनले भूमिगत कालमा दुई गुल्मी जिल्ला कमिटी प्रमुख, दुईपटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालिन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सह-ईन्चार्ज हुँदै बुटवलमा भएको नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिबेशन देखि केन्द्रिय कमिटीको सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह-ईन्चार्ज र नवौं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्य तथा पोलिटब्युरो सदस्य हुँदै एघारौँ राष्ट्रिय महाधिबेशनामा आईपुग्दा हाल पोलिटब्युरो सदस्य तथा भूमिब्यबस्था विभाग ईञ्चार्जको रुपमा जिम्मेवारी बहन गरिरहेको थिए ।