बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । रास्वपा उपसभापति डिपी अर्यालले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए ।
रास्वपाका अनुसार प्राइमरी इलेक्सन गरी उम्मेदवार छानिएको हो । ९ जना उम्मेदवार बन्न आकांक्षी थिए । त्यसमध्ये लेखजंगलाई उम्मेदवार बनाइएको हो ।
भैरहवाका लेखजंगले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका छन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबिबिएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डिएम न्युरोलोजी पढेका लेखजंग अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एन्ड इन्फर्मेटिभ’ का पनि ग्राजुएट हुन् ।
उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।
उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् ।
उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिनअघि जारी भएको छ । यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ र मनाङमा उपनिर्वाचन गर्ने घोषणा गरेको छ ।