• फाल्गुन २३ २०८२, शनिबार

कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको धार्मिक र सांस्कृतिक महत्व

भाद्र ६ २०८२, शुक्रबार

काठमाडौं । आज भाद्र शुक्ल औंसीका दिन कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनलाई भव्यताका साथ देशभर मनाइँदैछ । यस पर्वलाई नेपाली समाजले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्तै महत्वपूर्ण पर्व मान्ने प्रचलन रहिआएको छ ।

कुशे औंसीको दिन बिहानै घर–घरमा पवित्र कुश ल्याएर पूजाआजा गर्ने प्रचलन छ । कुशलाई हिन्दू संस्कृतिमा अत्यन्त पवित्र मानिन्छ । यसलाई भगवान विष्णुको प्रतीकका रूपमा लिइन्छ र धार्मिक कार्यहरुमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । यस दिनदेखि पितृपक्ष सुरु हुने भएकाले आफ्ना दिगंवत पितृहरूलाई श्राद्ध, तर्पण र दान गरेर सम्झने प्रचलन रहिआएको छ ।

यस दिन पितृलाई तर्पण गर्दा सन्तानलाई पुण्य प्राप्त हुने र घरमा समृद्धि कायम हुने विश्वास रहेकोछ । यस पर्वलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाको मुख हेर्ने दिन (मातातिर्थ औंसी) जस्तै, आज बुबाप्रतिको सम्मान प्रकट गर्ने अवसरको दिन मानिन्छ ।

सन्तानहरूले बुबालाई विशेष परिकार, लुगा तथा दक्षिणा अर्पण गरेर आशीर्वाद लिने प्रचलन रहेकोछ । बुबा दिवंगत भएकाहरुले बुवाको सम्झना गरी श्रद्धा गर्ने चलन पनि रहेकोछ । यस पर्वले सन्तानले आशीर्वाद लिने मात्र नभई बुबाप्रति कर्तव्य, जिम्वार र सम्मान गर्ने संस्कारलाई बलियो बनाउने काम गरेको पाईन्छ ।

यस्ता पर्वहरूले परिवारबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने र पुस्तौँ पुस्तासम्म संस्कार एक पुस्ताबाट आर्को पुस्तालाई हस्तान्तरण गर्ने आधार तयार गर्दै आएको पाईन्छ । यस पर्वले परिवारमा र समाजमा बुवाको योगदान, माया र अनुशासनलाई स्मरण गराउँदै यस दिनले भविष्यका पुस्तालाई पनि संस्कार सिकाउने भूमिका रहेको पाईन्छ । धार्मिक आस्थासँगै पछिल्ला वर्षहरूमा पनि यस पर्वले सामाजिक सन्देश दिने पर्वको रूपमा चलीआएको छ ।

वृद्ध बुबा–आमालाई सम्मान गर्ने, अनाथालय वा वृद्धाश्रममा पुगेर सेवा गर्ने, समाजमा अभाव र दुःखमा रहेका बुबाहरूलाई सहयोग गर्ने जस्ता कार्य पनि गर्दै आएको पाईन्छ । यसरी कुशे औंसी र बुवाको मुख हेर्ने दिनको धार्मिक विश्वासमा सीमित नभई परिवार, संस्कृति र सामाजिक उत्तरदायित्वलाई जोड्ने महत्वपूर्ण पर्वका रूपमा प्रचलित हुँदै आएको छ ।