• जेष्ठ २८ २०८२, मंगलवार

चीन र अमेरिका किन दुश्मन बने ?

बैशाख १० २०८२, बुधबार

अमेरिका र चीन एक अर्थमा भन्नु पर्दा जन्मजात शत्रु देशहरु हुन् । हुन त आजको चीन माओको पालाको चीन होइन न त सायद भोलि नै होला । माओको पालाभन्दा अगाडीको चीन जापान र बेलायतको उपनिवेशका कारण दरिद्र जिन्दगी बाँचेको भिख मागेर खाने चीन थियो । किनकि जापान र बेलायतले चीनलाई चुस्नसम्म चुसेका थिए र धनि भएका थिए ।

जापानी र बेलायती शोषणको मतियार बनेका थिए चीनका तानाशाह च्याङ काइसेक । हो तिनै च्याङ काइसेकको निरंकुश शासन फालेर चीनलाई विदेशी हस्तक्षेप र आफ्‌नै देशका जमिनदारबाट चिनियाँ किसानहरुलाई मुक्त गराएको थियो माओले नेतृत्व गरेको जनवादी क्रान्तिले ।

माओकै पालामा देशलाई आत्मनिर्भर बनाउने नीति लिइएको भएपनि समाजमा व्याप्त गरिवी, कुरिती र धार्मिक अन्धविश्वासका विरुद्ध लड्दालड्दै माओको निधन भयो । त्यसपछि सन् १९७६ पछि सत्तामा आएका देङ स्याओ पेङले कृषि, उद्योग र विज्ञान प्रविधिमा आधारित आर्थिक नीति लिएपछि नै चीन थोरै प्रगतिको दिशामा अगाडी बढेको देखिन्छ । सो नीति अन्तरगत देङले चीनलाई विकेन्द्रित अर्थतन्त्रतिर डोर्याए भने अन्तराष्ट्रिय व्यापारको लागि पनि चीनलाई खुला गरे । फलस्वरुप विदेशी कम्पनीहरु पनि चीनमा लगानी गर्न आइपुगे ।

सन् १९९७ सम्म शासनमा रहेका देङ स्याओ पेङले देखाएको आर्थिक बाटोमा नै आजको चीन हिँडिरहेको छ । विदेशी हस्तक्षेपबाट चीनलाई मुक्त गराउनुमा माओ त्सेतुङको र चीनलाई आत्मनिर्भरताको बाटोमा लैजानुमा देङको ठूलो योगदान रहेको छ । हो, त्यही गौरवपूर्ण र बलिदानीपूर्ण इतिहासको जगमा टेकेर आजको सी जिनफिङ नेतृत्वको चीन आर्थिक रुपमा संसारको दोस्रो अर्थतन्त्र भएको देश बनेको हो ।

‘जति प्रगति गर्दै जान्छ, उति दुश्मन पनि बढ्दै जान्छन्‌’ भने झैं आजको चीनका पनि धेरै दुश्मनहरु छन् । समाजमा, राष्ट्रमा र संसारमा खासगरी राजनीतिक, आर्थिक र साँस्कृतिक दुश्मन भनौं वा प्रतिष्पर्धीहरु हुने गर्दछन् । माओहरुले चीनका सामन्त जमिनदार विरुद्धको लडाइँ लडे र जिते तर ती सामन्तहरुको सत्ता जोगाइदिन लागिपरेका पश्चिमा साम्राज्यवादी देशहरु नै आजको चीनका दुश्मनका रुपमा उदाए । तर चीनको नेतृत्व ती सबैखाले दुश्मनका विरुद्ध लडेर परिपक्क भइसकेकोले बेलायती र अंग्रेजहरुले लगाएका सयौं प्रतिबन्धहरु झेल्दै आज चीन आत्मनिर्भर बनेको कुरा दिउँसको घाम झैं छर्लङ्गै छ ।

खासगरी विशाल चीनमा रहेका ठूलो परिणामका जमीन, जंगल, सुन र फलामका खानीहरु र पानीका स्रोतमा विदेशीले आँखा गाड्ने गरेका छन् । तर ती स्रोतहरु विदेशीलाई लुट्न नदिने चिनियाँ नेतृत्वकै कारणले उसका दुश्मनहरु बढेका हुन् । यो संसारका अनमोल खनिज र खानीहरु, सुन, तामा र फलामका भण्डारहरु पहिलो विश्वयुद्धसम्म बेलायतले लुट्यो, दोस्रो विश्वयुद्धपछि अमेरिकाले लुट्यो । तर अब भने कुनै पनि देशले ती विदेशी साहुजीहरुलाई आफ्‌ना देशका खानीहरु लुट्न नदिने गरी बलवान बन्दैछन् । रुसले युरोपियन र अमेरिकन साहुजीहरुलाई खानी लुट्न दिने छैन ।

चीनले बेलायतीहरुलाई सुन लुट्न दिने छैन । र पश्चिमा साहुजीहरुबाट लुटिएका सबै देशहरु नै आज एकढिक्का बन्दैछन् र पश्चिमा हस्तक्षेपकारी नीतिको प्रतिवाद गदैछन् । हो यसैकारणले अमेरिका, बेलायत, फ्रान्स र जर्मनहरु रुस, चीन, भेनेजुयला र उत्तरकोरियाहरुलाई दुश्मन ठान्छन् र सैतानको आरोप लगाउँछन् । अमेरिकालाई लुट्न दिनेहरु उसका दास हुन्, अमेरिकालाई लुट्न नदिने देशहरु अमेरिकाका दुश्मन हुन् । लुट्न दिनुको साटो विज्ञान, प्रविधि, कृषि, उद्योग जस्ता क्षेत्रमा प्रगति गरेर अमेरिकालाई नै उछिन्न आएपछि चीन अमेरिकाको दुश्मन नभएर मित्र हुने कुरै भएन ।

झण्डै १०० वर्षदेखि विश्व बजारमा एकछत्र राज गर्दै आएका पश्चिमा साहुजीहरु जब चीन बलियो भएर उदाउन थाल्यो तब उनीहरुको निद्रा खराब भएको छ । हो यही खराब भएको निद्रामा पागल झैं बनेका डोनाल्ड ट्रम्प आज चीनविरुद्ध पूरा तागत लगाएर खनिएका छन् । यसकै परिणामस्वरुप आज चीन र अमेरिका बीच व्यापार युद्ध चलिरहेको छ । यसका कारण र परिणामहरु दुनियाँले विस्तारै जान्ने नै छ ।

यसैबीच पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसितको व्यापारीक तनाव कम गर्न चीनसित वार्ता गर्ने मनसाय व्यक्त गरेका छन् । ट्रम्पले आफू वार्ताको टेबुलमा आउने कुरा चीनमा निर्भर रहेको भन्दै धम्कीको भाषा बोलेपछि चीनले पनि अमेरिकासँग व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको छ ।

यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वान समेत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङ जस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ ।’

ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृङ्खलामा चीनको भूमिकाको कारण देखाउँदै चीनबाट आयात हुने सामानमा कर लगाएका थिए । हालै वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्र रूपमा बृद्धि भएका छन् ।
यस वर्ष राष्ट्रपति ट्रम्पले चीनबाट आउने धेरै सामानमा थप १४५ प्रतिशतसम्म कर लगाएका छन् । फेन्टानिल र अन्य अवैध लागूपदार्थमा २० प्रतिशत र व्यापार अभ्यासमा १२५ प्रतिशत भन्दा बढी कर समावेश छन् । ट्रम्प प्रशासनले स्मार्ट फोन र ल्यापटप जस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छूट दिएको छ ।

मङ्गलबार अमेरिकी राष्ट्रपतिले भने, ‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ ।’ राष्ट्रपति ट्रम्पका प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा यो दाबी गरिएको छ । यसप्रति बेइजिङको तर्फबाट लीनले बुधबार प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाले नै यो करयुद्ध सुरु गरेको हो र चीनको अडान स्पष्ट छ कि व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउने छैन ।’

यसैबीच अमेरिकाले सुरु गरेको व्यापार युद्धलाई थेग्ने रणनीति बनाउन चिनियाँ राष्ट्रपति सी जिनपिङ एसिया भ्रमणमा निस्केका छन् । उनले पूर्वीएसियाका मलेसिया, भियतनाम, कम्बोडिया लगायतका देशहरुको भ्रमण गर्नेछन् र आफ्‌नो देशमा उत्पादन भएका वस्तुहरुको बजार खोज्नेछन् । उच्च प्रविधिमा आधारित उत्पादन भएकाले चीनमा उत्पादित सामानहरु सस्ता हुन्छन् । अमेरिकाले चीनलाई सहन नसक्नु र अनियन्त्रित तरिकाले कर बढाउनुको कारण पनि यही हो ।

यसरी आज चीन र अमेरिका बीच चुलिएको व्यापार युद्धले भोलिका दिनमा विश्वव्यापी अभाव र आर्थिक तथा व्यापारीक समस्या नल्याउला भन्न सकिन्न । उत्पादन र वितरणको व्यापारीक संजालमा खलबल मच्चिँदा विश्व बजारमा महँगी बढ्नेछ र आम उपभोक्ताले चर्को मूल्य चुकाउनु पर्नेछ ।

व्यापारका साथै आजको विश्व राजनीतिमा निकै ठूलो बद्लाव आएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि तिब्ररुपमा देखा परेको विश्व राजनीतिको उथलपुथलको बहस चीन–अमेरिका व्यापार युद्धको सुरुवातीका दिनसम्म आइपुग्दा विश्वको कुनाकुनासम्म नै पुगेको छ । यस बीचमा संसारका धेरै देशहरुमा सत्ताहरु परिवर्तन भएका छन् भने धेरै देशहरुमा विद्रोहहरु देखापर्न थालेका छन् ।

आजसम्म अमेरिकाको निर्देशनमा चलेको विश्वको राजनीति र अर्थतन्त्र अब धेरै चिरामा विभाजन भइसकेको छ भने अमेरिकालाई उछन्ने गरी उदाएका चीन, रुस र इरान जस्ता देशहरुको पहलमा भइरहेको नयाँ विश्व व्यवस्थाको उदयले विश्वलाई या त युद्धको अंध्यारो सुरुङतिर धकेल्ला या त विश्वका उत्पीडित राष्ट्रहरुलाई आर्थिक सम्पन्नता सहितको स्वतन्त्रताको युगमा लैजाला । त्यो भने समयक्रममा देखिने नै छ ।