काठमाडौं । ब्रिटिश गोर्खाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ब्रिटिश गोर्खा र निजका सन्ततीहरुको बंशजको नागरिकता निरन्तरताको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
सिएनसीबिजि CNCBG र भुपु सैनिक कल्याणकारी समिति नेपालका संयुक्त प्रतिनिधिहरुले ब्रिटिश गोर्खाहरु र निजका सन्ततीहरुको नेपाली नागरिकता निरन्तरता पाउनु पर्छ भनेर राष्ट्रपति पौडेल समक्ष ज्ञानपत्र पत्र बुझाइएको हो ।
राष्ट्रपति निवासमा भुपु सैनिक कल्याणकारी समिति नेपालका सचिव तथा वरिष्ठ अधिवक्ता चेत बहादुर आलेले राष्ट्रपति समक्ष ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो । त्यसपछि उक्त टोलीले राष्ट्रपति पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
उक्त भेटघाटमा राष्ट्रपति पौडेलले ब्रिटिश गोर्खाहरुको मागलार्ई नेपाल सरकार समक्ष पुराउन पहलकदमी गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । उहाँले नेपाली नागरिकताको निरन्तरताबारे ब्रिटिश गोर्खाहरु र एनआरएन बिचमा फरक रहेको बताउदै कार्यान्वयनकालागि नेपाल सरकार समक्ष पहल गर्न सुझाव दिने बताउनु भयो।
राष्ट्रपतिसँगको भेटपछि पत्रकारहरु माँझ भेटघाट गर्दै सिएनसीबिजिका अध्यक्ष थर्क रानाले ब्रिटिश गोर्खा र निजका सन्ततीहरुको बंशजको नागरिकता निरन्तरताको मागलाई नेपाल सरकारले न्याय गर्ने बताउँदै बेलायतमा रहेका डेढ लाख गोर्खाहरुले चाँडै आफ्नो अधिकार प्राप्त गर्ने बताउनु भयो । उहाँले भन्नु भयो–हामीले लामो समयदेखि नेपाली नागरिकताको निरन्तरताबारे नेपाल सरकारलाई बारम्बार ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदै आईरहेका छौं । ढिलो चाँडो पक्कै पनि हामी ब्रिटिश गोर्खाहरु र हाम्रा सन्ततीले न्याय पाउनेछ। वर्तमान सरकारप्रति ब्रिटिश गोर्खाहरुको पूर्ण विश्वास रहेको बताउनु भयो।
त्यसैगरी पत्रकारसँगको भेटमा आफ्ना कुरा राख्दै भुपु सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष हुम थापाले नेपाली नागरिकताको निरन्तरता बारे वर्तमान नेपाल सरकारसँग भेटघाट गरी आफ्ना मागहरु राख्दा सकारात्मक सुझाव आएको बताउनु भयो । उहाँले भन्नु भयो–राष्ट्रपति रामचन्द्र पौडेलज्यू त्यसैगरी मन्त्रीज्यूहरुसँग भेटघाट गरेर ब्रिटिश गोर्खा र निजका सन्ततीहरुको बंशजको नागरिकता निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाउन जाँदा उहाँहरुले हामीलाई राम्रो रेस्पोन्स दिनु भएको छ । हामी आशाबादी छौं यो सरकारले हामी र हाम्रा सन्ततीलाई न्याय दिनेछ ।
सिएनसीबिजि CNCBG (ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता) संस्थाका अध्यक्ष थर्क राना र नेपाल च्याप्टर हेर्ने संस्था भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका अध्यक्ष हुम बहादुर थापा लगायतका ब्रिटिश गोर्खाहरु दुई दशकदेखि अनवरत रुपमा ब्रिटिश गोर्खा र निजका सन्ततीहरुको बंशजको नागरिकता निरन्तरता पाउन पर्छ भनेर लामो समय देखि नेपाल सरकारलाई ज्ञापनत्र पत्र मार्फत ध्यानाकर्षण गर्दै आइरहेका छन् ।