काठमाडौं । काठमाडौं उपत्यकाका पाँच क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।
जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस बानेश्वर, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका हुन् ।
जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका हुन् ।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सचिव पदमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । पुल्चोकको स्ववियु सचिवमा दिवस सापकोटा र थापाथलीको स्ववियु सचिवमा जेसिस उपाध्याय विजयी भएका छन् ।
पुल्चोक इन्जिनियरिङको सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ र थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका उम्मेदवार प्रह्लाद खड्का विजयी भएका छन् ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजहरुमा चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । ६२ आंगिकसँगै त्रिविको १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । विवादका कारण कतिपय क्याम्पसहरूमा निर्वाचन हुन सकेन ।
निर्वाचनको तयारी पूरा भएपनि काठमाडौंका मुख्य क्याम्पसमा चुनाव रोकिएको छ । रत्नराज्य क्याम्पसमा तयारी पूरा भएपछि अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ ।
रत्नराज्य, त्रिचन्द्र, पद्मकन्या, विश्वभाषा, अस्कल, ल, सरस्वती , पब्लिक युथ, शंकरदेव लगायतका क्याम्पसमा भने चुनाव हुन सकेन ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा पनि चुनाव भएन । विश्वविद्यालय क्याम्पसको चुनाव चैत ८ का लागि तोकिएको छ । चुनाव स्थगित भएका क्याम्पसहरूमा १५ दिनभित्र चुनाव गराउने तयारी भइरहेको त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले बताए ।
विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।