काठमाडौं । सरकारले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसबारे निर्णय गरेका हुन् ।
निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत् सरकारले आफै व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।
जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ ।
विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्री पौडेलले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधीका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअर्न्तगतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्ण पौडेलले बताए ।
नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ ।
२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।