• श्रावण २१ २०८३, बिहीबार

आदिवासी अपाङ्गता भएका महिलाको अधिकार सुनिश्चित गर्न निडवानद्वारा पाँचदिने तालिम

श्रावण २१ २०८३, बिहीबार

काठमाडौं । ३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पहुँच हाम्रो अभियान’ भन्ने मूल नारासहित आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीका लागि पाँचदिने क्षमता अभिवृद्धि तालिम भइरहेको छ ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान) को आयोजनामा आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा हिंसासम्बन्धी तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष निमा लामाले ३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको शुभकामना व्यक्त गर्दै महासङ्घले आदिवासी जनजातिको हक, अधिकार र पहिचानका पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताए।

उनले आदिवासी समुदायभित्र रहेका महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका महिलाका अधिकारका विषयमा महासङ्घले निरन्तर पैरवी गरिरहेको उल्लेख गरे। साथै, निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आदिवासी अपाङ्गता भएका महिलाको अधिकारका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

अध्यक्ष लामाले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा आफूले प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाएको उल्लेख गर्दै क्षमता अभिवृद्धि तालिमले आदिवासी अपाङ्गता भएका महिलाका अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले ३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई भव्य रूपमा सफल बनाउन तथा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न सबैलाई एकजुट हुन आग्रहसमेत गरे।

कार्यक्रममा निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले समयको परिवर्तनसँगै समाज पनि परिवर्तन हुँदै गएको उल्लेख गर्दै अधिकारका विषयलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले आदिवासी समुदायले देशको विकासमा उल्लेखनीय योगदान पुर्‍याए पनि राज्यले अझै पनि उनीहरूको भावना र आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताइन्।

डा. गुरुङले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको जीवन निकै कठिन रहेको उल्लेख गर्दै कतिपयले नेपाली नागरिकतासमेत प्राप्त गर्न नसकेको र विभिन्न प्रकारका हिंसाको सामना गर्नुपरेको बताइन्। उनले ९९ प्रतिशत आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूमाथि हुने यौन हिंसा र बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै पीडितहरूले न्याय पाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराइन्। Photo by Roman Budha Magar

उनले राज्यबाट अधिकार प्राप्त गर्नुभन्दा पहिले परिवार र समाजबाट सम्मान र न्याय प्राप्त हुनु आवश्यक रहेकोमा जोड दिँदै समावेशिता र समानुपातिक सहभागिताको अवधारणालाई व्यवहारमै लागू गर्नुपर्ने धारणा राखिन्।

कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका निमित्त प्रमुख रामकुमार मादेन, राष्ट्रिय आदिवासी महिला महासङ्घकी अध्यक्ष शोभा सुनुवार तथा आदिवासी जनजाति युवा महासङ्घका प्रतिनिधि लगायतले पनि आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।


सातवटै प्रदेशबाट सहभागी आदिवासी अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको उक्त तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ। उद्घाटन सत्रमा निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले प्रमुख अतिथि तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरेकी थिइन्।