• श्रावण २४ २०८३, आईतवार

आदिवासी सुडेनीहरूको ज्ञान–सीप संरक्षण गर्न पुस्तान्तरणमा जोड

श्रावण २४ २०८३, आईतवार

काठमाडौँ। ‘आदिवासी सुडेनीहरूको सम्मानः जीवन र स्वास्थ्यको संरक्षण’ भन्ने मूल नारासहित ३२औँ विश्व आदिवासी दिवसको अवसरमा ज्येष्ठ नागरिक, महिला, किशोरी तथा युवाबीच अन्तरपुस्ता अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा भएको कार्यक्रममा आदिवासी समुदायका परम्परागत ज्ञान, सीप, संस्कार तथा प्रथाजन्य अभ्यासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र दस्तावेजीकरण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। उनीहरूले आदिवासी महिलाहरूले पुस्तौँदेखि प्रयोग गर्दै आएको गर्भावस्था, सुत्केरी तथा मातृ–शिशु स्याहारसम्बन्धी ज्ञान र सीपलाई राज्यले पहिचान, सम्मान र संरक्षण गर्नुपर्ने उनीहरुको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङले आदिवासी समुदायका प्रथा, परम्परा र संस्कृति अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यस्ता ज्ञान र सीपलाई दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिइन्। विशेषगरी आदिवासी सुडेनीहरूको अनुभव र ज्ञानलाई राज्यले पहिचान गर्नुपर्ने उनको भनाइ थियो।

तामाङले आधुनिक प्रविधिको विकाससँगै परम्परागत ज्ञानलाई विस्थापित गर्नेभन्दा पनि प्रविधि र आदिवासी महिलाको मौलिक ज्ञानलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा बहस आवश्यक रहेको बताइन्। बच्चा जन्मने प्रक्रिया प्रकृति र मानव जीवनसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले मातृ–शिशु स्वास्थ्यसम्बन्धी परम्परागत ज्ञानको वैज्ञानिक अध्ययन र संरक्षण आवश्यक रहेको धारणा राखिन्।

त्यसैगरी, महासंघकी संस्थापक सदस्य एसो कान्ती भट्टचनले आदिवासी समुदायको जल, जंगल, जमिन र भूमिसँगको सम्बन्ध केवल भौतिक नभई आध्यात्मिक आस्थासँग समेत जोडिएको बताइन्। उनले आदिवासी समुदायमा गर्भावस्था तथा सुत्केरी अवस्थामा प्रयोग हुँदै आएका जडीबुटी, खानपान र अन्य परम्परागत अभ्यासहरू पुर्खाको ज्ञान र अनुभवमा आधारित रहेको उल्लेख गरिन्।

यस्ता ज्ञान, सीप तथा परम्परालाई नयाँ पुस्तासँग जोड्दै लिपिबद्ध गर्नुपर्नेमा भट्टचनले जोड दिइन्। उनका अनुसार मातृ तथा शिशु स्वास्थ्यसँग सम्बन्धित परम्परागत अभ्यासको संरक्षणका लागि समुदायको अनुभवलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न आवश्यक छ।

महासंघकी निवर्तमान अध्यक्ष ङिमी शेर्पाले आधुनिक विज्ञान र प्रविधिको विकाससँगै नयाँ पुस्ताले पुर्खाबाट प्राप्त ज्ञान, सीप र परम्परा बिर्सिंदै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले आदिवासी महिलाहरूले विगतमा अपनाउँदै आएका मातृ–शिशु स्याहारका परम्परागत अभ्यास तथा पारिवारिक संस्कारको संरक्षण गर्नुपर्ने बताइन्। उनले नयाँ पुस्ताले आफ्ना अग्रजबाट प्राप्त ज्ञान र अनुभवलाई सिक्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान)की अध्यक्ष डा. प्रतिमा गुरुङले आदिवासी महिलाको जीवन, स्वास्थ्य, ज्ञान, सीप तथा परम्परागत अभ्यासबारे अन्तर्राष्ट्रियस्तरमै बहस भइरहेको बताइन्।

उनले आदिवासी समुदायमा बच्चा जन्माउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिलालाई ‘सुडेनी’भन्दा ‘धाई आमा’का रूपमा सम्बोधन गरिने अभ्याससमेत रहेको उल्लेख गरिन्। गर्भावस्था, प्रसूति तथा प्रसूतिपछिको अवस्थामा अपाङ्गता भएका बालबालिकालाई आदिवासी समुदायमा सम्मानजनक स्थान दिने परम्परा रहेको दाबी गर्दै उनले राज्य र समाजले पनि अपाङ्गता भएका बालबालिकालाई सम्मान र अधिकार दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा प्रतिनिधि सहभागी युवा पुस्ताले भने आफ्ना पुर्खाको परम्परागत ज्ञान र सीपभन्दा आधुनिक प्रविधिप्रति आफ्नो पुस्ताको आकर्षण बढ्दै गएको अनुभव सुनाए। उनीहरूले कुनै विषय जान्न वा सिक्न अग्रजसँग छलफल गर्नुको सट्टा प्रविधि तथा एआईमा निर्भर हुने प्रवृत्ति बढेको बताए। यसले पुस्तान्तरणमार्फत प्राप्त हुने मौलिक ज्ञान र अनुभव हराउँदै जाने जोखिम रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा दुईवटा सामूहिक छलफल गरिएको थियो। पहिलो छलफलमा मगर, छन्त्याल, तामाङ र राई समुदायका महिलाहरूले आदिवासी सुडेनी तथा धाई आमाका रूपमा आफूहरूले निर्वाह गरेको भूमिका र अनुभव आदान–प्रदान गरेका थिए। दोस्रो छलफलमा ज्येष्ठ नागरिक, महिला, किशोरी तथा युवाबीच आदिवासी समुदायका ज्ञान, सीप, संस्कृति, संस्कार तथा परम्पराको पुस्तान्तरणका विषयमा छलफल गरिएको थियो।

छलफलका सहभागीहरूले आदिवासी महिलाहरूको प्रथाजन्य ज्ञान, सीप तथा परम्परालाई दस्तावेजीकरण गरी राज्यले संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गरे। उनीहरूले आदिवासी समुदायको मौलिक ज्ञानलाई केवल विगतको परम्पराका रूपमा नभई समुदायको जीवन, संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा लिनुपर्ने बताए।

कार्यक्रमको समापन गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शोभा सुनुवारले आदिवासी समुदायको ज्ञान, सीप र परम्परालाई पुस्तान्तरण गर्नु अत्यन्त महत्वपूर्ण रहेको बताइन्।

उनले गर्भवती तथा सुत्केरी महिलाको स्याहार, खानपान, तेल मालिस, प्रसूतिका बेला अपनाइने परम्परागत अभ्यासलगायतका विषय आदिवासी महिलाको पुस्तौँदेखिको ज्ञान भएको उल्लेख गरिन्। यस्ता परम्परागत ज्ञानलाई आधुनिक प्रविधि र वैज्ञानिक अध्ययनसँग जोडेर संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो।

सुनुवारले प्रकृति, जल, जंगल र जमिनसँग आदिवासी समुदायको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आदिवासी ज्ञान र सीपको संरक्षणका लागि राज्यले विशेष प्राथमिकता दिनुपर्ने माग गरिन्। सुत्केरी तथा मातृ–शिशु स्वास्थ्यसँग सम्बन्धित परम्परागत ज्ञानको अध्ययन, दस्तावेजीकरण र संरक्षणमा राज्य तथा सम्बन्धित संघसंस्थाले संयुक्त रूपमा काम गर्नुपर्ने उनले बताइन्।

उनले आदिवासी जनजातिको मौलिक अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै सरकारले तत्काल आदिवासी समुदायका मौलिक अधिकारको सम्मान र संरक्षण गर्नुपर्ने बताइन्। अधिकारको संरक्षण नभए देश तथा विदेशमा रहेका आदिवासी समुदायले आवाज उठाउने चेतावनीसमेत उनले दिइन्।

अन्तरपुस्ता अनुभव आदान–प्रदान कार्यक्रमको सहजीकरण महासचिव धनकुमारी रानामगरले गरेकी थिइन्।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल, आदिवासी महिला कानुनी सचेतना समूह WE WIN र Focus for indigenous Girls (FIG)को संयुक्त आयोजनामा र Asia indigenous peoples pact (AIPP/ AFN) को व्यावस्थापनमा विभिन्न आदिवासी संघसंस्थाका एक सयभन्दा बढी प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा सहभागीहरूले आदिवासी महिलाको प्रथाजन्य ज्ञान, सीप, परम्परा तथा संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सह–कोषाध्यक्ष गायत्री रानामगर, समाजसेवी कमला थापा इनोल्याककी कोषाध्यक्ष रितु थापा लगायत पनि आ आफ्ना भनाई राखेका थिए । सामूहिक छलफलमा सहभागी प्रतिनिधिहरुलाई महासंघका अध्यक्ष शोभा सुनुवारले मायाको चिनो दिएर सम्मान धन्यवाद व्यक्त गरेकी थिइन् । PC By Roman Budha Magar