लन्डन। बेलायतस्थित ब्रिटिस गोर्खा नेपाल नागरिकता निरन्तरता अभियान सिएनसिबिजि (CNCBG) ले विश्वप्रसिद्ध आरोही स्वर्गीय निर्मल पुर्जा एमबीई (निम्सदाइ) को हरण गरिएको वंशजको नेपाली नागरिकता स–सम्मान फिर्ता गर्न तथा उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेको छ।

सिएनसिबिजिका अनुसार निर्मल पुर्जा विश्वसामु नेपालको प्रतिष्ठा उँचो बनाउने गोर्खा सैनिक तथा ख्यातिप्राप्त आरोही हुनुहुन्थ्यो। तर, नेपाल सरकारले बेलायती सेनामा सेवा गर्न पठाएका गोर्खाहरूले बेलायती नागरिकता ग्रहण गरेपछि उनीहरूलाई वंशजको नेपाली नागरिकताबाट वञ्चित गरिँदै आएको दाबी गरिएको छ।

सिएनसिबिजिले यस्ता घटना निर्मल पुर्जासँग मात्र सीमित नरहेको र अन्य धेरै गोर्खा सैनिक तथा तिनका सन्ततिले पनि यस्तै समस्या भोगिरहेको जनाएको छ। लामो समयदेखि गोर्खा सैनिक र तिनका सन्ततिलाई वंशजको नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने माग उठाउँदै आएको CNCBG ले ३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा र्याली आयोजना गर्न लागेको जनाएको छ।

बेलायतस्थित नेपाल आदिवासी जनजाति महासङ्घले हरेक वर्ष विश्व आदिवासी जनजाति दिवस मनाउँदै आएको छ। यस वर्ष पनि आगामी अगस्ट ८ मा कार्यक्रम आयोजना गरी आदिवासी तथा मूलवासी समुदायका अधिकार, उनीहरूले भोग्नुपरेका समस्याहरू तथा अधिकार प्राप्तिका लागि अपनाउनुपर्ने उपायबारे जनचेतना फैलाइने जनाइएको छ।

अभियानले बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई व्यक्तिगत कार्यक्रम र मनोरञ्जनमा मात्र सीमित नहुने तथा आफ्ना सन्ततिका भविष्य र अधिकारका विषयमा पनि गम्भीर बन्न आग्रह गरेको छ। बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै भावी पुस्ताको भविष्य सुरक्षित बनाउन सामूहिक पहल आवश्यक रहेको अभियानको भनाइ छ।
ब्रिटिस गोर्खा नेपाल नागरिकता निरन्तरता अभियानले बेलायतवासी सम्पूर्ण न्यायप्रेमी नेपाली समुदायलाई ३२औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आयोजना गरिने र्यालीमा सहभागी भई एकताबद्ध हुन आह्वान गरेको छ। PC CNCBG



