• पुष ११ २०८१, बिहीबार

काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको खानेपानी उपलब्ध गराउँछौं : मन्त्री यादव

पुष १० २०८१, बुधबार

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् ।

मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग बुधबार भएको छलफलमा यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

‘नागरिकले महसुस गर्ने गरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छु, उनले भने, ‘काठमाडौंवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोही अनुसार वातावरण तयार गरौँ ।’

मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका संघर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए ।

उनले भने, ‘नागरिकका समस्या समाधान गर्नु हाम्रो दायित्व हो, काठमाडौंमा मेलम्चीको पानी ल्याउने समयमा हेलम्बुका नागरिकसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ ।’

जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गरे । साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उनले बताए ।